काठमाडौं । रुसमा चलिरहेको विश्वकप फुटवलको सट्टेबाजी नेपालमा पनि हुने गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार सट्टेबाजको धन्दा साँझ ५ बजेबाट सुरु हुन्छ ।

रातभर धन्दा चल्छ । बिहान ८ बजेसम्म हिसाबकिताब क्लियर हुन्छ । अनि मोबाइल स्विचअफ गरेर दिनभर सुत्छन् ।

खेल पाँच बजेपछि शुरु हुने भएकाले सट्टेबाजको सक्रियता पनि त्यही वेलादेखि सुरु हुन्छ । रातभर खेल चल्ने भएकाले बाजी पनि रातभर चलिरहन्छ । खेल सकिएपछि हिसाबकिताब हुन्छ ।

सट्टेबाजीका लागि उनीहरूले विशेषगरी भइबर र फेसबुक प्रयोग गर्छन् । प्रहरीबाट समातिने डरले हिसाबकिताब क्लियर भएलगत्तै भइबर र फेसबुकमार्फत लगाइएको बाजी डिलिट गर्छन् ।

विश्वकप फुटबलका खेलमा बाजी खेलाएकै अभियोगमा प्रहरीले टोलेगुन्डा राजनकुमार भुजेललाई पक्राउ गरेको छ ।

शुक्रबार कालीमाटीबाट पक्राउ परेका उनी ज्यान मार्ने उद्योगका फरार प्रतिवादी हुन् ।

राजधानीका क्यासिनोमा जुवा खेल्न जाने र उनीहरूलाई मिटरमा ब्याज लगाउनेहरू अहिले सट्टेबाजीमा संलग्न हुने गरेको खुलेको छ । क्यासिनोमा जुनसुकै वेला समातिने डरले उनीहरू फुटबल म्याचको सट्टेबाजीमा संलग्न भएको प्रहरी बताउँछ ।

Comments

comments