मेलबर्न । अष्ट्रेलियामा पहिलो पटक ‘नेपाल अष्ट्रेलिया बिजनेस फोरम’ र ‘नेपाल बिजनेस प्रोमोसन नाइट ‘ को आयोजना हुने भएको छ । नेपाल र अष्ट्रेलिया बीच व्यपार र लगानी बढाउने मूख्य उद्देश्यका साथ नेपाल अष्ट्रेलिया बिजनेस फोरम २०१८ र नेपाल बिजनेस प्रोमोसन नाइट २०१८ को अवधारणा ल्याइएको हो ।

नेपालको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी समेत आउनुहुने उक्त कार्यक्रमलाई नेपाली दूतावास क्यानबेरा र भिक्टोरियास्थित महावाणिज्यदूतको कार्यालयले संयुक्त रुपमा आयोजना गरेका हुन् । यस भव्य र महत्वपूर्ण कार्यक्रम आयोजनाको लागि मेलबर्न सहरलाई चुनिएको छ ।

कार्यक्रमको बारेमा जानकारी दिंदै आयोजकले नेपालमा आर्थीक समृद्धिको सपना पूरा गर्न सहयोग गर्नको लागि यो कार्यक्रम प्रभावकारी हुने बताएका छन् । आयोजकका अनुसार, नेपालमा लगानीको अवसर, व्यापार सम्भावना र दुई देशको समृद्धि तथा सम्बन्धको चर्चा गरिनेछ । अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुले नेपालमा संयुक्त लगानी गर्न चाहेमा आफूहरु संयोजक बस्न तयार रहेको समेत राजदुत लक्की शेर्पाले बताएकी छिन् ।

नेपाल र अष्ट्रेलियाका उच्च तहका प्रतिनिधिहरुको सहभागिता हुने भएकोले कार्यक्रमलाई महत्त्वपूर्णका साथ हेरिएको छ । कार्यक्रममा नेपाली प्रतिनिधि तथा व्यवसायीहरु सहित भिक्टोरियाका अर्थमन्त्री रविन स्कट, जेनिस्लेटिभ काउन्सिलका सभापति ब्रुस अटकिन्सन, वैदेशिक सम्बन्ध हेर्ने डीफ्याटकी निर्देशक फियोना म्यकग्रो सहितसय भन्दा बढी अष्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरु सहभागी हुनेछन् ।

कार्यक्रम आगामी जुन ३० शनिबारका दिन 215 Bell St , Preston , VIC 3072 स्थित मन्त्र बेल सिटि होटलमा हुनेछ । नेपाल अष्ट्रेलिया बिजनेस फोरम २०१८ कार्यक्रम पांच घण्टा सम्मे चल्ने बताइएको छ ।

Comments

comments