लमजुङ । भारतीय कम्पनी गान्धी मल्लिकार्जुना राव (जीएमआर) इनर्जी लिमिटेडले १ दशकसम्म ‘होल्ड’ राखेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजनाको निर्माण अब चिनियाँ कम्पनीले गर्ने भएको छ ।

६ सय मेगावाटको यो आयोजनामा मनाङको नासों गाउँपालिकाको सिरानतालमा बाँध बाँधेर मर्स्याङ्दी गाउँपालिका ४ ताघ्रिङको स्याँगे नजिकै पावर हाउस निर्माण गरी विद्युत् उत्पादन गरिनेछ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

लगानी जुटाउन नसकेपछि आयोजना १ दशकसम्म जीएमआरले थाती राखेको थियो । उक्त आयोजनाको लाइसेन्स एक महिनाअघि जीएमआर समूहको हिमताल हाइड्रोपावर कम्पनीसँग बुटवल पावर कम्पनी (बीपीसी) ले किनेको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा बुधबार चिनियाँ कम्पनी र नेपाली निजी कम्पनी बीपीसीका अधिकारीबीच आयोजना संयुक्त लगानीमा निर्माण गर्ने लिखित सम्झौता भएको हो । चिनियाँ कम्पनी र बीपीसीबीच माथिल्लो मर्स्याङ्दी २ जलविद्युत् आयोजना निर्माणका लागि ‘फ्रेमवर्क’ एग्रिमेन्ट भएको छ ।

बीपीसीका अध्यक्ष पद्म ज्योति र सिचुवान इन्भेस्टमेन्ट ग्रुप, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाईईसीबीच सम्झौता भएको हो । आयोजनामा बीपीसीको १९ दशमलव ४ प्रतिशत र बाँकी चिनियाँ कम्पनीको सेयर हुने बताइएको छ । यस्तै लमजुङको ङादीखोलामा निर्माण हुने ४० दशमलव २७ मेगावाटको सिउरी न्यादी जलविद्युत् आयोजना पनि नेपाली र साझेदारी चिनियाँ कम्पनी मिलेर निर्माण गर्ने सम्झौता भएको छ ।

आयोजना विकास सम्झौता (पीडीए) हुन सकेको थिएन । १० वर्षसम्म अन्योलमा रहेको आयोजनामा चीनले चासो देखाएपछि निर्माण हुनेमा स्थानीय आशावादी बनेका छन् । मर्स्याङ्दी गाउँपालिका ४ ताघ्रिङका वडाध्यक्ष सुमन गुरुङले ठूला आयोजनामा लगानी भित्रिनु नै सुखद भएको बताए । ‘मेरै वडामा बन्न लागेको यति ठूलो आयोजनाले रोजगारी सिर्जना हुनेछ ।

स्थानीयको विकासमा सहयोग पुग्नेछ,’ उनले भने । उनले निजी कम्पनीलाई विकासमा लगानी गर्न दिइनुपर्ने र कम्पनीलाई करको दायराभित्र ल्याउनुपर्ने बताए । ‘नेपालको आर्थिक स्रोत भनेको जलविद्युत् र पर्यटन हो,’ उनले भने, ‘सम्झौता गरेर मात्रै हुँदैन, आयोजना बनाउन लाग्नुपर्छ ।’ मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सम्झौताको खबर सुखद भएको बताए । ‘हाम्रोमा विकासको आधार जलविद्युत् विकास हो,’ उनले भने, ‘लगानीमैत्री वातावरण बनाउन स्थानीय तहको तर्फबाट पूर्ण सहयोग रहनेछ ।’ उनले आयोजनाबाट हुन सक्ने वातावरणीय प्रभाव र स्थानीय हितका लागि विशेष ध्यान दिइने बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments