एजेन्सी । उपाधिको बलियो दाबेदार र धेरै समर्थकहरुले व्यग्र प्रतिक्षा गरेको ब्राजेलियन टोली विश्वकपको पहिलो खेलमा आज राति पौने १२ बजे रोस्तभमा स्वीट्जरल्याण्डविरुद्ध उत्रदा उसको कडा परीक्षा हुनेछ।

विश्व नम्बर ६ टोली स्वीट्जरल्याण्ड पछिल्लो समय निकै राम्रो लयमा रहेको टोली हो। विश्वकप छनोट हुँदै वार्मअपका ९ खेलमा उसले जित हात पारेको छ।

चारवटा वार्मअप खेलमा पनि स्वीट्जरल्याण्ड अपराजित नै रह्यो। त्यसमा स्पेनसँगको १–१ को बराबरी बाहेक ग्रिस, पानामा र जापानलाई स्वीस टोलीले पराजित गर्यो। पानामाको पोस्टमा उसले एक गोलपनि नखाई आधा दर्जन गोल गरेको थियो।

पहिलोचोटी विश्वकपमा स्वीस टोलीको प्रशिक्षकत्व गरिहरेका भ्लादिमिर पेटकोभिकको योजना भने नेमारलाई रोक्ने छ।

‘क्रिस्टियानो रोनाल्डो जस्तै नेमार अद्धितीय क्षमता भएको खेलाडी हुन,’ भ्लादिमिरले भने, ‘उनलाई पुरै अवधिभर थामेर राख्न नसकिएला भनेर हामी मानसिक रुपमा पनि तयार छौं।’

आयोजकपछि विश्वकपमा छनोट हुने पहिलो टोली तथा पाँच पटकको विश्व च्याम्पियन ब्राजिल टिटेको प्रशिक्षकत्वमा आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्ने सोचका साथ स्वीट्जरल्याण्डबिरुद्ध मैदान उत्रनेछ।

वार्मअप खेलदेखि नै उनीहरुले आफ्नो प्रभावशाली लय देखाउँदै आएका छन। क्रोयसिया र अस्ट्रियाविरुद्ध फरवार्ड विलियन, रोर्बिटो फिर्मिनो, ग्राबियल जिसस, फिलिप्पे कौटिन्हो र नेमारले शशक्त प्रदर्शन गरेका थिए।

ब्राजिललाई गत विश्वकप जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहर्नुको पीडा पनि मेटाउनु छ। छैटौं पटक विश्वकप जित्दै कीर्तिमान रच्ने दाउमा रहेको ब्राजिलले टिटेको प्रशिक्षकत्वमा खेलेका २१ मध्ये १ खेलमात्रै हारेको छ।

जर्मनीलाई पनि मेक्सिकोसँग सहज छैन :

विश्वकप फूटबलमा आज डिफेन्डिङ च्याम्पियन जर्मनीले मेक्सिकोको सामना गर्दैछ ।

जर्मनीले विश्वकपमा सधैं उत्कृष्ट प्रदर्शन गर्ने गरेको छ तर मेक्सिको पनि लर्तरो टोली हैन । मेक्सिकोको टोलीमा प्रतिभाशाली खेलाडीहरू छन् र उक्त टोली पछिल्ला ६ विश्वकपका क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । गति, प्राविधिक दक्षता र रणनीतिक कौशल मेक्सिकोका खेलाडीको विशेषता हो ।

मेक्सिकोका प्रशिक्षक ओसोरियो जर्मनीलाई स्तब्ध बनाउने नतिजा ल्याउनेमा ढुक्क छन् । ओसोरियो खेलाडीहरूको सही पोजिसन बनाउन माहिर छन् । खेलाडीहरूलाई बल कता छ अनि विपक्षी खेलाडी कता छन् भन्ने मूल्यांकनका आधारमा उनले परिचालन गर्ने गरेकाले पास गर्ने प्रशस्त विकल्प खेलाडीहरूमा रहन्छ ।

एल त्रि भनेर चिनिने मेक्सिकोको टोलीको मिडफील्ड र अट्याक बलियो छ । हक्टर हेरेरा, आन्द्रेस गुआरदादो, हर्भिङ लोजानो, दोस सान्तोस दाजुभाइ, कार्लोस भेला लगायतका खेलाडीहरू उम्दा छन् ।
यो विश्वकपको सबभन्दा राम्रो अट्याक भएको टोली मेक्सिकोलाई नै मानिएको छ ।

डिफेन्समा पनि हेक्टर मोरेनो, मिगेल लायुन, कार्लोस साल्सिदो, रफाएल मार्केज अनि गोलकीपर गिलेर्मो ओचोआले जुनसुकै आक्रमणलाई रोक्न सामर्थ्य देखाएका छन् ।

यावत् कारणहरूले गर्दा मेक्सिको जोआचिम लोको प्रशिक्षणमा रहेको जर्मनीका लागि खतरनाक प्रतिद्वन्द्वी हो । तर हालै उसले विश्वकपको तयारीका लागि खेलेका खेलहरू त्यति गतिला थिएनन् । उसले स्कटल्यान्डलाई बल्लबल्ल हराएको थियो भने वेल्ससँग गोलरहित बराबरी खेलेको थियो । ती दुवै टोली विश्वकपमा छनोट हुन सकेका थिएनन् ।

जर्मनीको कुरा गर्दा उसका उम्दा खेलाडीहरूले अघिल्लो विश्वकपपछि संन्यास लिएका छन् । तर अहिले पनि जर्मन टोलीमा एकसेएक खतरनाक खेलाडीहरू छन् । अत्यन्तै राम्रो प्रदर्शन गर्ने गोलकीपर म्यानुअल नोयर विश्वकपका लागि टोलीमा फर्केका छन् ।

स्ट्राइकरहरू टिमो लर्नर र थोमस मुलरले आक्रमणको नेतृत्व गरेका छन् भने म्याट्स हम्मल्स र जेरोम बोआटेङको अनुभवी जोडीले डिफेन्सलाई उच्च फर्ममा राखेका छन् ।

टोनी क्रूस, सामी खदिरा, मेसुट ओजिल र इल्के गुन्दोगन जस्ता खेलाडी पाउनु कुनै पनि टोलीका लागि ईर्ष्यालाग्दो उपलब्धि हो ।

तर पूर्णतः फिट भएपनि ओजिललाई चाहिँ पहिलो खेलमा लोले नखेलाउन सक्ने सम्भावना छ । ओजिलले केही समययता खासै राम्रो प्रदर्शन पनि गरिरहेका छैनन् । उनको ठाउँमा जुलियन ड्रेक्सलरलाई ल्याउने सम्भावना देखिन्छ । त्यसो त ड्रेक्सलरले ओजिल एक सिर्जनात्मक खेलाडी भएकाले उनलाई पहिलो खेलमै खेलाइनुपर्ने बताएका छन् ।

विश्वकपको तयारी खेलहरूमा जर्मनीले खासै राम्रो प्रदर्शन गर्न सकेन । अस्ट्रियासँग उसले हार बेहोरेको थियो भने साउदी अरबसँग पनि उम्दा खेल खेलेको थिएन भलै त्यो म्याच उसले जितेको होस् । मेक्सिको तीव्र गतिमा खेल्ने अनि प्राविधिक रूपमा बलियो विपक्षी भएकाले जर्मनीले सम्हालिएर खेल्नुपर्ने हुन्छ ।

जर्मनी र मेक्सिकोको प्रतिस्पर्धामा इतिहास जर्मनीको पक्षमा छ । उनीहरूबीच भएका ११ खेलमा जर्मनी पाँचचोटि विजयी भएको छ भने मेक्सिकोले एक जीत निकालेको छ । बाँकी पाँच म्याच बराबरीमा टुंगिएका छन् ।

सन् २०१७ मा रुसमै भएको कन्फेडेरेसन कपमा जर्मनीले मेक्सिकोलाई ४–१ गोलले ध्वस्त पारेको थियो ।

Comments