मस्को ।  बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी प्रेरित टोली अर्जेन्टिना विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डसँग बराबरीमा रोकिएको छ ।

शनिबार साँझ मस्कोको स्पार्टाक रंगशालामा भएको समूह डीको पहिलो खेलमा विश्वकपको उपाधि दावेदार टोली अर्जेन्टिनालाई आइसल्याण्डले बराबरीमा रोकेको हो ।

सर्जियो एग्युरोले पहिलो हाफको १९औं मिनेटमै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर, त्यसको चार मिनेटपछि नै अर्जेन्टिनी डिफेण्डरहरुको कमजोरीको फाइदा उठाउँदै आइसल्याण्डले गोल गर्न सफल भयो । विश्वकपमा पहिलो सहभागिता र पहिलो खेलमै आइसल्याण्डका लागि अलफ्रेड फिनबोगासनले गोल गरेका थिए ।

चुस्त डिफेन्सिभ खेल प्रस्तुत गरेका आइसल्याण्डको बार तोड्न दोस्रो हाफमा लियोनल मेस्सी, सर्जियो एग्युरो जस्ता सुपरस्टारलाई हम्मे परेको थियो । आइसल्याण्डलाई उचाईले पनि साथ दिएको थियो ।

६४औं मिनेटमा अर्जेन्टिनाले गोलको सुन्दर अवसर पाएको थियो ।

आइसल्याण्डका डिफेण्डरले मेस्सीलाई डिबक्सभित्र फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । तर, सुपरस्टार मेस्सी अप्रत्यासित रुपमा त्यस अवसरबाट चुक्न पुगे । आइसल्याण्डका गोलरक्षक हेन्स हल्डरसनले मेस्सीको प्रहार सहजै बचाएका थिए ।

Comments

comments