एजेन्सी । सलमान खानको पछिल्लो फिल्म ‘रेस ३’ले भारतमा पनि खराब समीक्षा बटुलिरहेको छ । भारतका प्रतिष्ठित मिडियाहरुमा फिल्मले निकै दयनीय रेटिङ पाएको छ । सबैजसो समीक्षकले सलमानका फ्यानकाे अपेक्षालार्इ समेत याे फिल्मले न्याय दिन नसक्ने निष्कर्ष दिएका छन् । सलमानको अभिनयले पनि खासै तारिफ पाएको छैन ।

मिड डे, रेटिङः १/५

सोनिल डेढियाले लेखेका छन्, पछिसम्म पनि फिल्म स्कुलमा पढाइनेछ यो ‘रेस ३’ । कसरी एउटा राम्रो झुर फिल्म बनाउन सकिन्छ भन्ने पढाउनुपर्यो भने यही फिल्मबारे पढाइनेछ ।

सलमान खानको अभिनयलाई उनले डेडप्यान एक्सप्रेसनको संज्ञा दिएका छन् । अर्थात्, बिल्कुलै भावशुन्य । बरु उनले अनिल कपुर र बबि देवलको कामलाई तारिफ गरेका छन् ।

इन्डियन एक्सप्रेस, रेटिङः १.५/५

कार चेजिङ, विष्फोट र पहलमान कलाकारहरुको स्लो मोसन तथा चालु संवादबाहेक रेस ३ मा केही पनि छैन । पुरानै ढर्राका पात्रहरु छन् । उनीहरुका संवादमा पनि कुनै रवाफ छैन । शुभ्र गुप्ताको समीक्षामा लेखिएको छ, सलमानले फिल्मलाई धानेका छन् । तर, उनीबाट फ्यानहरुको अपेक्षा पूरा हुने देखिँदैन ।

हिन्दुस्तान टाइम्स, रेटिङः १/५

रोहित भाट्सले लेखेको समीक्षाको शीर्षक नै छ, सलमानको खल्लो फिल्ममा कुनै दम छैन । फिल्म कतैबाट पनि तर्कसंगत लाग्दैन । पटकथा फितलो छ । यो फिल्म बनाउनेले सोचेको देखिन्छ कि, जो सलमानका फ्यान होइन, उसले यो फिल्मबारे टाउको नै नदुखाओस् ।

‘खराब फिल्ममेकिङले गर्दा फिल्मको १६० मिनेट झेल्न निकै सास्ती हुन्छ । फिल्म हेर्नुभन्दा घरमा बसेर इद मनाउनु ठिक हुनेछ,’ रोहितले लेखेका छन् ।

कोइमोइ डटकम, रेटिङः २/५

फिल्मको एक्सन कोरियोग्राफी राम्रो छ । तर, अल्छीलाग्दो एडिटिङ, जबरजस्ती लादिएका गीतहरु र फिल्मको नाम ‘रेस ३’ राख्नुको कारण सम्झिँदा फिल्म नराम्रो लाग्छ ।

निर्देशक रेमो डि–सुजाले भुलेका छन् कि, चिल्ला कार र एक्सन कोरियोग्राफीमात्र फिल्म होइन । अघिल्ला ‘रेस’हरुमा घतलाग्दा कथा थिए । तर, यसमा कथा नै छैन भन्दा हुन्छ । यसको कथा हाई हाउने खालको लम्बेतान तन्किएको छ ।

टाइम्स अफ इन्डिया, रेटिङः २.५/५

पातलो कथामा लार्जर द्यान लाइफ लाग्ने भिजुअल छन् । आगो र धुँवा भरमार छन् । तर, तिनमा वास्तविक बाफ चाहिँ छैन । कथा र कलाकारको पर्फर्मेन्स दुवैमा दम छैन ।

आलिशान क्यानभास र भव्य लोकेसनमा फिल्म खिचिएको छ । तर, त्यसले दर्शकलाई समात्न सकेको छैन । समीक्षक रचित गुप्ताले अगाडि लेखेका छन्, ‘फिल्ममा सस्पेन्सको कुनै फिलिङ छैन र एउटा मसलादार फिल्मले जति मनोरञ्जन दिनुपर्ने हो, त्यति यो ‘रेस ३’ले दिँदैन ।’

Please follow and like us:

Comments