काठमाडौँ । आमा भएर बाँच्नु साह्रै गाह्रो रहेछ, खास गरी सन्तान मारिएपछि । न्याय खोज्दा उल्टै पतिले पनि ज्यान गुमाएपछि त म एकदम एक्ली भएकी छु । त्यसपछि मलाई एक क्षण पनि बाँच्न मन भएन ।

कम्तीमा यो अन्याय टुलटुल्ती हेरेर अस्पतालको यो कुनामा सागपातजस्तो गरी बाँची रहनु भन्दा त मर्नु नै धेरै कल्याण हुन्थ्यो। तर ईच्छा गर्दैमा काल आइहाल्दो रहेनछ।

कि मृत्यु कि न्याय भनेर मैले धेरै पटक अनसन बसिसकें। तर हरेक पटक, म बेहोस भएपछि खुवाइँदो रहेछ।

‘मरेर पनि कहिं न्याय पाइन्छ?’ मेरा वकिल बाबुराम गिरी संधै मलाई यसो भनेर मायाले हप्काउनु हुन्छ। धेरै पटकको अनसन त उहाँले नै हातै जोडेर तुहाइदिनु भयो। मलाई बहिनी भन्नु हुन्छ र दाजुले भन्दा बढ्ता ढिपी गरेर माया देखाउनुहुन्छ।

यो सबदेखि मलाई चाहिँ वाक्क लागिसक्यो। आखिर कहिलेसम्म म यो अर्थहीन जीवनलाई धानिरहूँ? कहिलेसम्म पाइँदै नपाइने न्याय पर्खेर बसिरहूँ? कहिलेसम्म?

त्यसैले, आजका दिन अर्थात २०७५ जेठ १५ देखि मैले अन्न पानी नखाने घोषणा गरेकी छु। सोचेकी थिएँ, छोरो मारिएको दिन, जेठ २४ गतेदेखि यसो गर्नेछु। तर, गणतन्त्र दिवस मनाउने भनेर सरकारले बालकृष्ण ढुंगेल र अरु आठसय भन्दा बढी मानिसलाई जेलमुक्त गरिदियो अरे। बिहानै रेडियोमा यो समाचार सुनेपछि मलाई पानी निल्न पनि मन लागेन।

यस्तो देशको हावा लिनु पनि अपराध जस्तो लाग्यो। अनि लाग्यो, अब म बाँचेर के काम? मैले खाएर के काम? मेरा छोराका हत्याराहरु खुलेआम हिँड्छन्। मेरो पतिको लास चारचार वर्षदेखि शिक्षण अस्पतालमा सडेर बसेको छ। म यहाँ के कुरेर बसिरहने? त्यसैले मलाई नमरे हुन्थ्यो भनेर माया गर्ने सबैलाई निरास पार्दै मैले अनसन सुरु गरें।

सपनामा बरोबरजस्तो म छोरा र बुढालाई देखिरहन्छु। उनीहरु सँधै सँगै हुन्छन्। म मात्रै एक्लै यहाँ कति बसिरहूँ? मेरो मन र मुटु छोरा र उसको बाबुसँगै छ। खोक्रो जिउ लिएर यहाँ बस्नुको अब काम छैन। त्यसैले यो अनसन म उनीहरुलाई भेट्न जाने तयारी हो। छोरो मारिएदेखि अहिलेसम्म बनेका सबै सरकारलाई म घाँडो भएकी छु। मरेपछि उनीहरुलाई पनि आनन्द हुनेछ। हत्याराहरुले आरामको सास फेर्न पाउनेछन्। जजसले मेरा कारण अप्ठेरो भोग्नु परेको थियो, मेरो सास जाने बित्तिकै सबलाई सजिलो हुनेछ। त्यसैले पनि मैले जीवन लम्ब्याइरहनुको अर्थ छैन।

अघिल्लो पटकको अनसनमा २०७३ भदौ २८ गते आइसियुमै म बेहोस भएपछि बचाउने प्रयास नगरेको भए यो पापी संसार छाड्ने मेरो ईच्छा पुरा भइसक्थ्यो। अस्पतालका मानिसले भने अनुसार त्यतिबेला मेरो सासै बन्दै हुन आँटिसकेको थियो अरे। मलाई भने केही सम्झना छैन। मैले त प्रचण्ड, उनकी पत्नी सीता, छविलाल र उसका छोराहरुलाई नजिकै बसिरहेको देखेकी थिएँ।

‘आऊ सीता, भात खान जाऊँ’ प्रचण्डले मतिर देखाउँदै भनेका थिए, ‘यस्तीले पनि हामीलाई डामेर छाडी हगि !’

पछि थाहा भयो, बेहोस हुँदा यो सब देखेको रहेछु।

‘कति सुतिरहनु हुन्छ आमा ?’ भन्दै मलाई कुर्न बसेका हवल्दार टोपबहादुरले कपालमा समातेर झकझक्याएपछि मेरो होश आयो।

‘लौ मुख खोल्नुस् !’ उनले भने। तर मेरो ओठ नै चलमलाएन। उनैले मुख बलपूर्वक फट्याइदिए। अनि एक चम्चा पानी मुखमा हालिदिए। कैयौं महिनादेखि मुखमा केही नपरेकाले होला, पानी एकदम तीतोजस्तो लाग्यो।

‘के तीतो हालिदिएको यो ?’ म सकिनसकी कराएँ।

गल्ती भयो आमा भनेर उनले चिनी घोलेर अरु केही चम्चा पानी मुखमा हालिदिए। बिस्तारै मलाई जिउ दुखेको र खुट्टा भतभती पोलेको होस भयो। प्राणै जान लागेपछि मलाई पैतालामा करेन्ट लगाएर बौर्‍याएका रहेछन्, दुबै खुट्टा फिलासम्म नै डढेर कालो भएको थियो। बाबुराम दाइसँग आइरहने अर्का वकिल आसिकराम कार्की त्यस दिन बिहानै मलाई भेट्न आइपुगे।

धेरै दिनदेखि होस गुमेका हुनाले उनले कतै म बितिसकें कि भन्ने ठानेका रहेछन्। आउने बित्तिकै गंगामाया भनेर बोलाए। थाहा छैन किन, कार्कीलाई देखेपछि म ह्वाँह्वाँती रोएछु। अनि भनेछु, ‘हेर्नुस् त, मेरो खुट्टा पोलेर रोटी सेकाए !’

यस्तो बेसुरा कुरा सुनेपछि अस्पतालमा सबै गलल्ल हाँसे।

‘सिस्टर, उहाँको खुट्टामा रोटी सेकाएको हो ?’ आसिकरामले सोधेका थिए।

‘आमाले चाहिने कुरा गर्नै छाड्नु भएको छ’ भनेर उनीहरु हाँसे। उनीहरुलाई लागेछ, म बहुलाएँ। यही बेला मलाई चितवन जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरले अस्पतालमै साक्षी बकपत्र गराउने सुविधा दिनु भनेर आदेश गरेका रहेछन्।

‘अब तपाईंले अनसन तोड्नु पर्छ’ मलाई मेरा वकिलहरुले सल्लाह दिएका थिए, ‘अदालतले यसपाला त साँच्चै नै चासो दिएको छ, अब न्याय पाइन्छ।’

यस अघि पनि धेरै पटक यस्तै गरी अनसन तोड्नु परेको थियो। त्यसैले मैले केही खाने इच्छा गरिन। तर उनीहरुले यसपाला त त्यस्तो होइन कि होइन भनेर कर गरे। अनि चिया र विस्कुट घोलेर मुखमा हालिदिए। म हातले पञ्छाउन पनि सक्ने अवस्थामा थिइन। त्यसको केही दिनपछि असोज २ गते चितवन अदालतबाट मेरो बयान लिन मानिसहरु आए।

‘कमजोरीले होला, उहाँ बेसुरा बोलिरहनु भएको छ। कसरी बयान दिनु होला र !’ सुबोध (प्याकुरेल) बाबुले भन्नु भएको म सम्झन्छु।

‘होइन, म बेसुरा भएकी छैन’ बयान दिन तयार भएर बसेकी मैले भनेकी थिए, ‘म सक्छु, ल तयार पार्नुस्।’

त्यसपछि मलाई आइसियुबाट बाहिर निकाले अनि अस्पतालकै माथिल्लो तलामा बयान लिन सुरु गरे। बोल्न पनि मलाई मुस्किल परिरहेको थियो। आवश्यक परे कुरा बुझाउन सघाइदिन्छु भनेर मेरा अर्का वकिल ओम अर्याल बयान सुरु भएको केही पछि आइपुगेका थिए।

के कसो भएको हो भनेर मलाई उनीहरुले दुई घण्टासम्म सोधपुछ गरे। बाबुराम दाइहरु भन्नु हुन्थ्यो अब चाहिँ केही हुन्छ। त्यो पर्खेर म आजका दिनसम्म बसिरहें। तर भएको चाहिँ केही होइन।

छोराको हत्या गर्नेलाई कारबाही होस् भन्दा आज मेरो सारा परिवार लथालिंग हुन पुग्यो। यो अवस्थामा म अब बाँच्नुको के सार? त्यसैले म बिन्ती गर्छु, अब मलाई झुठा कुरा गरेर थामथुप पार्न कोही नआउनु। म जे छु, ठीकै छु, विथोल्न कोही नआउनु !

(शुक्रबार विमोचित गंगामाया अधिकारीको आत्मकथा ‘न्यायको अवसान’ बाट)

Comments

comments