मस्को । रुस विश्वकपअन्तर्गत उपाधिको दाबेदार मानिएको फ्रान्सले शनिबार एसियन टोली अष्ट्रेलियासँग खेल्दैछ । समूह ‘सी’अन्तर्गत काजन एरेनामा हुने खेल नेपाली समयअनुसार ३ः४५ बजे सुरु हुनेछ ।

बलियो फ्रान्सविरुद्धको यो खेल अष्ट्रेलियाका लागि परीक्षा नै हुने छ । सायद यही खेलले अस्ट्रेलिया प्रतियोगितामा अघि बढ्ने वा समूहगत चरणबाटै घर फर्कने संकेत मिल्नेछ । किनभने फ्रान्सको यो टोली निकै सशक्त देखिएको छ । रुस विश्वकपमा छनोट भएका टोलीमध्ये बलियो रक्षापंक्ति मानिएको फ्रान्ससँग अग्रपंक्तिमा पनि एन्टोइन ग्रिजम्यान, केलिएन एम्बाप्पेजस्ता प्रतिभाशाली खेलाडी छन् ।

फ्रान्स युरोपेली छनोट प्रतियोगिताको समूह ‘ए’को विजेता बन्दै रुस विश्वकपका लागि छनोट भएको टोली हो । अष्ट्रेलियाले भने रुस विश्वकपको सहभागिता पक्का गर्न एसियाली र महादेशीय प्ले अफसमेत खेल्न परेको थियो । फ्रान्सविरुद्धको अघिल्लो भेटको नतिजाले समेत अस्ट्रेलियालाई मुस्किल देखिएको छ । यी दुई टोलीले आधिकारिक प्रतियोगितामा भने एकपटक मात्रै प्रतिस्पर्धा गरेका छन् । सन् २००१ को कन्फिडेरेसन कपअन्तर्गत भएको खेलमा अष्ट्रेलिया फ्रान्ससँग १–० ले पराजित भएको थियो । सबै खाले प्रतियोगितामा गरी हालसम्म चारपटक प्रतिस्पर्धा गर्दा फ्रान्सले दुई तथा अष्ट्रेलियाले एकपटक जित हात पारेका छन् । एक खेल बराबरीमा रोकिएको छ ।

त्यसयता रुस विश्वकपको तयारीस्वरूप खेलिएको खेलमा भने दुवै टोलीको प्रदर्शन लगभग उस्तै छ । फ्रान्सले रुस विश्वकप छनोट पक्का गरेपछि खेलेका सातमध्ये मात्र एक खेलमा पराजय बेहोरेको छ । चार खेलमा जित हात पार्दा दुई खेलमा बराबरीको नतिजा निकालेको छ । अष्ट्रेलियाले पनि रुस विश्वकप छनोटपछि खेलेका चारमध्ये मात्र एक खेलमा पराजय बेहोरेको छ । दुई खेलमा जित हात पार्दा एक खेलमा बराबरी खेलेको छ ।

Please follow and like us:

Comments