काठमाडौं । नर्वेका मुटु सर्जन मोन्स ली आँखामा मोतीविन्दुको शल्यक्रिया गर्न जहाज चढेर नेपाल आए। ७६ वर्षीय ली कैलालीको गेटा अस्पतालमा शल्यक्रिया गरेपछि खुशी हुँदै फर्केको नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा तीर्थप्रसाद मि श्रले गर्व साथ सुनाए ।

युरोपबाट आएका लीको शल्यक्रिया डा. सुरेशराज पन्तले गरेका थिए। अाजकाे अन्नपुर्ण दैनिकमा खबर छ ।

नेपालका आँखा अस्पतालमा मोतीविन्दुको सफल शल्यक्रिया हुने थाहा पाएपछि भारत लख्खिमपुरको मजिस्ट्रेटका वृद्ध बुबाले जिद्दी गरे। ‘अप्रेसन गर्ने हो भने म नेपालमै गर्छु, नत्र गर्दिनँ।’ त्यसपछि ती मजिस्ट्रेटले पुनाबाट बुबालाई नेपाल ल्याए। शल्यक्रिया गराएर फर्किए।

यी घटना प्रतिनिधिमूलक मात्र हुन्। सामान्य बिमार वा अप्रेसनका लागि पनि विदेश जाने प्रवृत्ति बढिरहेको बेलामा आँखाको शल्यक्रिया गर्न भने नेपाल विदेशीका लागि पनि सस्तो र भरपर्दो गन्तव्य बनेको छ।

मोतीविन्दु होस् वा खस्रे रोग, अहिले नेपालमा आँखाको उपचार एवं शल्यक्रियामा सुलभ देखेर विदेशबाट आउनेको संख्या बढ्दै गएको छ। खस्रे रोगको गत वर्ष ३० हजार जनाको शल्यक्रिया गरिएकोमा २० हजार भारतीय नागरिक भएको संघका कार्यकारी निर्देशक शैलेशकुमार मि श्रले जानकारी दिए।

नेपालमा खस्रे रोग जनस्वास्थ्य समस्याका रूपमा नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। दक्षिण पूर्वी एसियामै खस्रे रोग जनस्वास्थ्य समस्याका रूपमा नभएको पहिलो मुलुकका रूपमा प्रमाणित गरी डब्लुएचओले स्वास्थ्य मन्त्रालयलाई प्रमाणपत्र दिएको छ।

आँखाको उपचारमा काठमाडौंभन्दा पनि जिल्लाका आँखा अस्पतालले बढी विश्वास जितेको पाइएको छ। राजधानीबाट कतिपय व्यक्ति आँखाको शल्यक्रियाका लागि मोफसलका अस्पतालमा जाने गरेका छन्।

आँखाको समस्या काठमाडौंबाहिर बढी भएकाले संघले मोफसलमा अस्पताल खोल्न प्राथमिकता दिएको थियो। संघका अध्यक्ष मि श्र भन्छन्, ‘ जुन ठाउँमा रोगको प्रकोप छ, त्यहीं अस्पताल खोलेका कारण काठमाडौंमा कान्छो अस्पताल बन्यो।’

नेत्र ज्योति संघअन्तर्गत संचालित १७ वटा आँखा अस्पतालहरू राजधानी बाहिर खोलेपछि मात्र काठमाडौंमा अस्पताल खोलिएको हो। संघअन्तर्गत मुलुकभर १८ वटा आँखा अस्पताल, ८४ वटा आँखा उपचार केन्द्र छन्। अस्पताल एवं विभिन्न उपचार केन्द्रमा गरी दुई हजार जनशक्ति खटिएका छन्।

भारतमा भन्दा नेपालमा सस्तो

मोतीविन्दुको शल्यक्रिया भारतमा भन्दा नेपालमा सस्तो छ। नेपालमा मोतीविन्दुको शल्यक्रिया खर्च १२ सय रूपैयाँ लाग्छ भने भारतमा सोही शल्यक्रियाका लागि ८ हजार भारतीय रूपैयाँ लाग्ने चिकित्सकहरू बताउँछन्।

विगतमा आर्थिक रूपले विपन्न भारतीयहरू आउने गरेकोमा अहिले मध्यमवर्ग पनि आकर्षित भइरहेको बिपी कोइराला नेत्र अध्ययन केन्द्र, शिक्षण अस्पतालकी आँखा रोग विशेषज्ञ डा. मिनु चौधरी बताउँछिन्। उनी भन्छिन्, ‘आँखाको उपचार गर्न भारतबाट बच्चा लिएर पनि आउन थालेका छन्।’

सन् २०१४ मा संघ अन्तर्गतका अस्पतालको बहिरंगमा आएका बिरामीमध्ये ४४ प्रतिशत भारतीय थिए। सन् २०१६ मा मुलुकका सम्पूर्ण आँखा स्वास्थ्य संस्थाहरूले बहिरंग सेवामार्फत सेवा दिएका ९ लाख २९ हजारभन्दा बढी बिरामीहरू विदेशी नागरिक थिए।

तराईका विराटनगर, लहान, गौर, भरतपुर, परासी, बहादुरगन्ज, बाँके, गेटा आँखा अस्पतालबाट बाह्य उपचार सेवा प्रदान गरिएका बिरामीमध्ये ५ लाख ८८ हजार १ सय ७३ जना विदेशी (विशेषतःभारत)का थिए। उक्त अस्पतालहरूमा उपचारका लागि आउने नेपाली बिरामीहरूको अनुपात ४८ दशमलव ७३ रहेको संघका प्रवक्ता प्राडा घनश्याम भट्टराईले जनाएका छन्।

आँखा शल्यक्रिया सस्तो पर्ने भएका कारण गैरआवासीय नेपाली पनि नेपालमै उपचार गर्न आउन थालेको आँखा रोग विशेषज्ञहरू बताउँछन्।

शल्यक्रियामा विराटनगर आँखा अस्पतालले सबैभन्दा बढी छिमेकी मुलुकका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ। दोस्रोमा सगरमाथा चौधरी आँखा अस्पताल लहान रहेको छ।

सन् २०१६ मा १ लाख ८४ हजार ४ सय ५५ जनाको आँखाको शल्यक्रिया गरिएको थियो। यसअनुसार विदेशी बिरामीको अनुपात ६४ दशमलव ६७ प्रतिशत छ।

तराईकेन्द्रित अस्पतालहरूको तथ्यांक हेर्ने हो भने नौ वटा अस्पतालमा विदेशी बिरामीको संख्या १ लाख ४२ हजार ३ सय ३९ रहेको छ। संघ अन्तर्गतका तराईका नौ वटा आँखा अस्पतालहरूले ७६ दशमलव ९१ प्रतिशत विदेशी बिरामीलाई शल्यक्रिया सेवा प्रदान गरेका थिए। विराटनगर आँखा अस्पतालले मात्र ५३ हजार एक सय ७० जना विदेशी बिरामीको शल्यक्रिया सम्पन्न गरेको थियो। यसैगरी सगरमाथा चौधरी आँखा अस्पतालले ३८ हजार २६ जना विदेशी बिरामीलाई शल्यक्रिया सेवा प्रदान गरेको संघले जनाएको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments