एजेन्सी । विश्व फुटबलको महाकुम्भ शुरु हुन केही घण्टा मात्र बाँकी रहँदा यसपटक कसले जित्ला भन्ने सर्वत्र चासोको विषय बनेको छ । यसले विश्वका फुटबलप्रेमीहरुको ढुकढुकी बढाइदिएको छ । अर्को कुरा यो विश्वकप पछिल्लो केही दशक यताकै आँकलन गर्न मुस्किल विश्वकप फुटबलको रुपमा रहेको छ ।

रुसबाट घर फर्किने बेला विश्व विजेता बनेर उदाउने सम्भावित टिमहरुको सूचि लामो छ । तर नयाँ विश्व विजेता छान्ने प्रक्रिया औपचारिक रुपमा सुरु हुनु पूर्व केही यस्ता सम्भावित टिमको चर्चा सबै तिर हुने गरेको छ ।

त्यसमा प्रमुख गरी चार टिमका बारेमा आज हामी चर्चा गर्दैछौँ, जो विश्वकपमा आफूलाई विश्व विजेताको रुपमा चिनाउन सक्ने छन् ।

ब्राजिल

प्रशिक्षक टिटेको नेतृत्वमा टिम निकै परिवर्तन भएको छ । रुस बाहेक विश्वकपका लागि छनौट हुने पहिलो देश हो, ब्राजिल । चार वर्षअघि घरेलु मैदानमै भएको विश्वकपमा सेमिफाइनलमा जर्मनीसँग बेहोरेको ७–१ हारपछि अहिले ब्राजिलको टिममा धेरै परिवर्तन भएको छ ।

चार वर्षअघिको हारको बदला केही समयअघि भएको खेलमा ब्राजिलले विश्व विजेता जर्मनीलाई १–० ले हराएर लियो । यो खेलमा गाब्रिएल जिससले गोल गरे ।

एलिसन र कोन्टिन्होले पनि राम्रो प्रदर्शन गरे । उनीहरु गएको विश्वकप पछि अहिले धेरै फेरिएका छन् । यो टिममा अरु यस्ता धेरै खेलाडी छन् जसले प्रभाव पार्न सक्छन् ।

मुख्य खेलाडी : नेइमार

अघिल्लो विश्वकपमा नेइमार चोटग्रस्त भएर मैदान बाहिर हुँदाको प्रभाव जर्मनीसँगको खेलमा देखियो । यसपटक नेइमार चोटका कारण तीन महिना मैदान बाहिर रहेर भर्खरै मैदान फर्किएका छन्।

उनको चोटले ब्राजिलको टिममा धेरै आशंकाहरु उब्जाएको थियो । तर तीन महिना मैदान बाहिर रहेर फर्किएका नेइमारले अभ्यास खेलको क्रममा आफू विश्वकपका लागि पूर्ण रुपमा तयार रहेको प्रमाण दिइसकेका छन्।

२६ वर्षका नेइमारले राष्ट्रिय टिमबाट ५४ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा रोमारिओ, रोनाल्डो र पेलेलाई टक्कर दिन सक्ने अवस्थामा पुगिसकेका छन् ।

उनले चोटपछि मैदान फर्किएका दुई खेलमै गोल गरे । उनले क्रोएसिया र अस्ट्रियासँगको खेलमा गोल गरे ।

प्रशिक्षकको विचार

प्रशिक्षक टिटेले आफूहरु विश्वकप जित्ने बलियो सम्भावना भएको टिम रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘ब्राजिल विश्व विजेता बन्ने सम्भावनाको टिम हो । अहिलेको अवस्था, जुन रुपमा छनौट चरण टुंग्यायौँ । खेलाडीको प्रदर्शन र नतिजा… हामी विश्वपकको उपाधि उचाल्न सक्ने टिम हौँ ।’

फ्रान्स

प्रशिक्षक डिडियर डेसच्याम्पस टिममा व्यक्तिगत क्षमताले भरिएका खेलाडीसहितको टिम लिएर रुस पुगेका छन् । फ्रान्सको टिममा पउल पोग्बा, एन्टोनी ग्रिजम्यान, केलियन एमबाप्पे, उसमान डेम्बेले सहितका उत्कृष्ट खेलाडी छन् ।

यस्तै टिमका सबै खेलाडी आश गर्न मिल्ने खालका छन् । डेसच्याम्सले आफ्नो टिमलाई विश्वकप जित्न सक्ने तरिकाले तयार पारेका छन् ।

उनमा खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप उचाल्ने व्यक्ति बन्न चाहन्छन् । यसअघि मारिओ जागाल्लो र फ्रान्ज बेकेनबाउरले मात्रै खेलाडी र प्रशिक्षक दुवै भएर विश्वकप जितेका छन् ।

मुख्य खेलाडी : एन्टोनी ग्रिजम्यान

दुई वर्षअघि घरेलु मैदानमा भएको युरोकप फुटबलमा फ्रान्सलाई फाइनलसम्म पु¥याउनमा महत्वपूर्ण भूमिका ग्रिजम्यानको रह्यो ।

यस्तै उनी एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको उपाधि उचाल्ने क्रममा उनी नै हिरो बने । उनी डाइनामिक र डेडली दुवै छन् । तीव्र गतिका फरवाडर ग्रिजम्यानले फ्रान्सलाई विश्वकप उपाधिसम्म लग्न सक्ने क्षमता राख्छन् ।

प्रशिक्षकको विचार

प्रशिक्षक डिडियर डेसच्याम्पसले उपाधि सपना बलियो रहेको तर अरु देशलाई पनि हेर्नु पर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हामीसँग धेरै आशाहरु छन् । अरु देशलाई हेर्ने हो भने युरोपमा दुई देश छन् (स्पेन र जर्मनी) जो हामी भन्दा अघि छन् । यस्तै दक्षिण अमेरिकामा एक देश (ब्राजिल) छ ।’

जर्मनी

चार वर्षअघि चौथोपटक विश्व विजेता बनेको जर्मनी यसपटक पनि सम्भावनाको सूचिमा सबैभन्दा अघि रहेको टिम हो । यो टिम सबै प्रतिस्पर्धीका लागि कठिन छ ।

रुस यात्रामा रहेका जर्मनीको टिममा चार वर्षअघि विश्वकपको उपाधि उचाल्दा भन्दा पनि प्रभावशाली भएका छन् । युवा खेलाडीको भरमा उसले फिफा कनफेडेरेसन कपको उपाधि उचाल्यो ।

अरु स्टार खेलाडीसँगै युवा खेलाडीहरु टिमो वार्नर, लिओन गोरेट्ज्का तथा जोशुए किमिचसहित फेरि चार वर्षअघिको ग्लोरी कायम गर्ने ध्यानमा छन् ।

मुख्य खेलाडी : मेसुट ओजिल

पछिल्ला वर्ष उनको लयमा एकरुपता नरहेको भन्दै आलोचना नभएको होइन । क्लब र राष्ट्रिय टिमबाट उनको प्रदर्शनको प्रशंसा र आलोचना दुवै हुन्छ । तर पनि उनी उत्कृष्ट र क्षमतावान खेलाडी हुन् ।

उनी पछिल्लो समय भने अहिलेसम्मकै सिर्जनात्मक र सहयोगी देखिएका छन् । उनी जर्मनीलाई विश्वकपको उपाधि दिलाउनका लागि गोलका लागि सहयोग गर्ने राम्रो खेलाडी बन्ने छन् ।

प्रशिक्षकको विचार

प्रशिक्षक योआखिम लोले विश्व विजेता फेरि बन्ने सपना रहेको तर त्यो सजिलो भने पक्कै नहुने बताए ।

उनले भनेका छन्, ‘जर्मनीले यसअघि कहिले पनि यस्तो तीव्र चाह गरेको थिएन होला । हामी अहिले तीव्र चाहको अवस्थामा छौँ । यदी हामी फेरि विश्व विजेता बन्न चाहन्छौँ भने झण्डै सुपर–मानव शक्तिको खाँचो पर्छ ।’

स्पेन

८ वर्षअघि विश्व विजेता बनेको टिम चार वर्षअघिको विश्वकपमा समूह चरणबाटै बाहिरियो । तर स्पेन यसपटक आफ्नो पुरानो कलात्मक लयमा फर्किएको छ । उसलाई यसपटक रुसबाट घर फर्किने बेला विश्व विजेता बन्न सक्ने टिमको रुपमा हेरिएको छ ।

स्पेनको टिममा सन् २००८ देखि २०१२ को बिचमा तीन प्रमुख उपाधि उचाल्न सहयोग गरेका स्टार खेलाडीदेखि नयाँ प्रतिभाशाली खेलाडी छन् । स्पेनले सन् २००८ र २०१२ मा युरोकप तथा २०१० मा विश्वकपको उपाधि उचालेको थियो ।

चार वर्षअघिको नमिठो बिर्सिएर जुलिएन लोपेटेगीको टिम स्पेनले अहिले उत्कृष्ट लय समातेको छ । छनौट चरणमा गरको प्रदर्शन र ठूला टिमसँगको मैत्रीपूर्ण खेलमा उसको लयले स्पेनलाई विश्व विजेता बन्ने सम्भावनाको लाइनमा अघिल्लतिर राखेको छ ।

प्रमुख खेलाडी : डेविड सिल्भा

बलियो अवस्थामा३२ वर्षका भए तर सिल्भा टिमका विवादरहित स्टार हुन् । १०० भन्दा बढी पटक स्पेनको प्रतिनिधित्व गरेका सिल्भा अहिले पनि उस्तै लयमा छन् जस्तो पहिले थिए ।

उनले स्पेनका लागि छनौट चरणमा पाँच गोल गरे । यस्तै म्यानचेस्टर सिटीलाई कीर्तिमानी अंकसहित प्रिमियर लिगको उपाधि दिलाउने क्रममा उनको भूमिका महत्वपूर्ण रह्यो । यो विश्वकपमा पनि सिल्भाको भूमिका स्पेनका लागि सार्थक बन्न सक्छ ।

प्रशिक्षकको विचार

आफूहरु यो विश्वकपमा फेरि स्पेनलाई प्रमाणित गर्ने लक्ष्यका साथ रुस यात्रामा रहेको प्रशिक्षक जुलिएन लोपेटेगीले बताएका छन् ।

उनले भनेका छन्, ‘जब जितिन्छ त्यो बेला मात्रै सम्भावित विजेताको नाम पाइन्छ । स्पेनको फुटबलले सन् २००८, २०१० र २०१२ मा निकै राम्रो समय बितायो । तर त्यसपछि हामीले त्यहि लय समात्न सकेनौँ । अहिले हामीसँग धेरै सपनाहरु छन् । तर हामी विश्वकपमा निकै शान्त रुपमा आएका छौँ र आफूलाई फेरि प्रमाणित गर्ने दिनको पर्खाईमा छौँ ।’

स्रोत : फिफा डट कम

Comments

comments