– अनुप राज अर्याल

जब अष्ट्रेलियाको लागि भिजा आवेदन दिन लागियो, मनमा धेरै कौतुहलता जागेको थियो। जीवनमा पहिलो पटक देश छोडेर परदेश जान लागेको , के हुने होला कस्तो हुने होला आदि इत्यादि । खासै आफन्त धेरै भएको शहर त थिएन मेलबर्न, तैपनि मनमा अनेक उत्साह र उमङ्ग बोकी मेलबर्न आइयो, एक्लै । नेपालको एयरपोर्टमा बिदाइ हुँदा रोएको रोदन हिजो जस्तो लाग्छ। आफ्नो परिवार र आफन्तसङ्ग बिछोड हुँदा निराश जो पनि हुन्छ र विदेश आउँदा उत्साहित जो पनी हुन्छ।

जब मेलबर्न आइयो , आएको १५ दिनमा, आफन्तको सहयोगमा सानो कामपनि पाइयो र काम गरियो पनि। तर यो काम मलाई पिडादायी सावित भयो। काम लगाइदिनु भएको आफन्तले बढाइचढाई गरेर नेपालमा आफ्नो तारिफ आफैले अलि बढी नै गर्नुभएछ। मलाई काम दिनुको साथै मलाई पालेको जस्तो हल्ला फिजाउनुभएछ। पहिले त चित्त नदुखेको होइन तर पछि सोच आयो, जसले जे जानेको हुन्छ त्यसले त्यस्तै व्यवहार गर्छ।

समय अघि बढ्दै गयो, धेरै कुरा मनमा बटुल्दै हिंड्न थालियो। मध्यम वर्गीय नेपाली परिवेशमा हुर्केको जीवन , मेलबर्नको सहरमा काम खोज्दै व्यस्त हुन थाल्यो। सबैको सल्लाह अनुसार किचेन र किल्निङ्ग काम खोज्दा-खोज्दा दिन अनि रात बितेको पत्तो पनि भएन कहिलेकाही । सुरुसुरुमा आउँदा रिज्युम र कवर लेटर कसरी बनाउने भन्ने थाहा नहुँदा साथीभाइ र अग्रजसङ्ग सहयोग लिएर दिनरात ल्यापटप अगाडि बसेको हिजो जस्तो लाग्छ। काम पाउने आशमा रेस्टुरेन्टहरुमा रिज्युम छोडेर घर आउँदा काम पाइने आशले मिठो निन्द्रा पनि आउँथ्यो।

सुरु-सुरुमा प्राय अरुको भर परिने कुरा स्वाभाविक हो, आफूले नजानेको कुरा अरुलाई सोध्नु राम्रो पनि हो। विस्तारै मैले आफूलाई अत्यावश्यक हुने नियम कानुनको बारेमा सिक्ने प्रयास गर्दै अघि बढें। साथीभाइहरुको संख्या पनि बढ्न थाल्यो र त्यसैले होला मेलबर्न शहरमा आफ्नोपनको महसुस हुन थाल्यो। अरुसङ्ग सफा मनले बोल्नुपर्छ र अरुको सम्मान र इज्जत गर्न सधैं जान्नुपर्छ भन्ने सोच लिई अष्ट्रेलियन र अरु देशको नागरिकहरुसङ्गको मित्रताले मलाई धेरै कुरा सिकाएको छ, ढिलो भएपनि धेरै कुरा बुझ्ने मौका मिलेको छ । र मैले बुझको कुरा चाहिँ मलाई त्यति लाभदायक हुन सकेन, किनकी बिरामीबाट उठीसकेपछि औषधी त्यति काम लाग्दैन , फेरि बिरामी हुने अवस्था आयो भने चाहिं अवश्य काम लाग्छ।

यहाँ काम पाउन राम्रो रिज्युममा काम लगाउने संस्थाले कामदारमा खोजेको गुण र कामका दायित्वहरु राम्रोसङ्ग समावेश हुनु पर्ने रे ! रिज्युमको बनावट अलि आकर्षक , कामको अनुभव अलि राम्ररी देखाइएको हुनुपर्ने रहेछ। प्रत्येक कामको अलग रुज्युम र कभरलेटर हुनुपर्दो रहेछ, जुन भ्याकेन्सीमा खोजिएको कामदार वा कर्मचारीको गुण सङ्ग मिल्नु आवश्यक हुन्छ। मैले जीवन जिउँदै जाँदा, धेरै कुरा सिक्न गुगलको मद्दत लिन थालें। तैपनी जीवनमा के नपुगेको के नपुगेको जस्तो महशुस हुन्थ्यो ।

कहिलेकाहीँ किचेनको काम गर्दा गर्दा हातमा , कहिले कम्मरमा पीडा, अनि कहिले त पाइताला दुखेर औषधी खानुपर्ने ! अनि फेरी सोंच आउंथ्यो, कुनै सजिलो काम गर्न पाए त कति सरल हुन्थ्यो होला जीवन, कति सुख पाँउथ्यो होला यो ज्यानले । तर के गर्नु, अल्छि तिग्रो स्वादे जिब्रो भएर मिठो भोजन र आरामदायी जीवन अलि सम्भव हुन्न । केही सिकेर अनि केही बुझेर अनि केही जानेर जीवन परिवर्तन गराउन सकिन्छ भन्ने कुरा बिस्तारै बुझ्न थालियो ।

कहिलेकाही यी कुरा बुझ्न अलि ढिलो भएको महशुस हुन्थ्यो। सुरुमा मेलबर्न आउने बित्तिकै अङ्ग्रेजीलाई सुधार्दै अनि निखार्दै लगेको भए अहिले धेरै सजिलो हुने कुरा बुझ्न थालेको छु। किचेन , क्लिनिङ्ग , हाउस्किपिङ्गमा मात्र हैन, केही तालिम लिई , केही सीप सिकेर अनि धेरै काम सम्बन्धि ज्ञान सिकेर , काम सम्बन्धि भिडियो हेरेर, कामको विस्तृत जानकारी लिई अरु अलि राम्रो कमाइ र काम अलि सहज हुने क्षेत्रमा हात हाल्नु पनि धेरै लाभदायक हुने पो रहेछ !

अहिले बुझियो कि, काम खोज्दा धेरै कुरा सिक्नुपर्दो रहेछ , धेरै कुरा जान्नुपर्दो रहेछ। अन्तरवार्तामा जानु अघि काम कस्तो हो, काम कसरी गर्ने , काम गर्ने विधि जान्नु धेरै महत्त्वपूर्ण कुरा हो। अन्लाईन काम मात्र भर पर्नु हुन्न । सुरु सुरुमा आफुसङ्ग अनुभव नहुँदा , गमट्रि प्रयोग गर्दा काम दिने मानिस वा संस्थाको ठेगाना विचार गर्नु लाभदायक हुन्छ। राम्रो रिज्युम र कभरलेटर त पहिले देखिनै हुन्छ आफूसङ्ग र तत्काल समय निकाली भ्रमण गर्नु राम्रो हो। अष्ट्रेलियनको अगाडि अलि बोल्न सक्ने अनि हल्का कामको ज्ञान भयो भने काम नपाइने होइन, तर आफ्नो काम गर्न खाली समय कति छ, कुन भिजा हो, कामको अनुभव के छ भन्ने कुराले फरक पार्ने पक्कै हो। यसलाई हामीले सामान्य रुपमा लिन सक्नुपर्छ।

जीवनले काम खोज्ने चक्करमा धेरै कुरा सिकायो र बुझायो पनि। राम्रो काम पाउनको लागि अङ्ग्रेजी भाषामा निपूर्ण हुनु आवश्यक छ , पढाइसङ्गै भोलि आफूले गर्ने काम र क्षेत्रको राम्रो ज्ञान हुनु आवश्यक छ। आज म खुशी छु कि अष्ट्रेलियाले मलाई इमान्दार हुन सिकायो, आफ्नो खुट्टामा उभिन सिकायो र समयको माग अनुसार आफूलाई बदल्दै अनि केही सिक्दै अगाडी बढ्न सिकायो । मुख्यत : ज्ञान सिक्न र केही बुझ्न “गुगल” साथी बनाउनु पर्दछ भन्ने सिकियो।

२ करोड पचास लाख संख्या भएको देश अष्ट्रेलियामा, म हरेक कुरामा आफूलाई नेपालीसङ्ग दाँजेर मात्र हिंड्ने गर्दिन , सबैको जीवन हेर्ने गर्द्छु । सबै देशको मान्छेसंग सङ्गत गर्ने प्रयास गर्दै सबैबाट राम्रो कुरा सिक्ने गर्द्छु। मेरो पल्लो कोठामा बस्ने मेरो नेपाली साथी मात्र होइन मेरो वल्लो घरमा बस्ने अष्ट्रेलियन र पल्लो घरमा बस्ने भारतीय परिवारबाट पनि केही राम्रो कुरा बुझ्न म सधैं तयार हुन्छु। किनकि मलाइ सबल बन्नुछ , मलाइ शिर ठाडो पारी बाँच्नु छ ।

अष्ट्रेलियामा काम खोज्ने चक्करमा बुझेको कुरा यो हो कि, यहाँ सङ्गत पाउनु ठुलो कुरो होइन, तर म सधैं राम्रो सङ्गत र राम्रो नियतका मान्छेहरुको भिडमा आफूलाई सुरक्षित महशुस गर्न थालेको छु। असल सङ्गतले इज्जत पनि जोगिने, अर्थ पनि जोगिने र मानसिक र भौतिक स्वास्थ्य पनि सधैं राम्रो हुनेछ। म संख्या भन्दा पनि जीवनको गुणस्तरमा अनि मानसिक सोचको निश्चलतालाई अलि महत्त्व दिन थालेको छु, ता की भोलि कुनै मोडमा यो मन र मस्तिष्कले आत्मग्लानिको महसुस नगरोस् । के गर्नु, यहाँ आफ्नो हितको सुरुवात आफैंबाट हुनुपर्दछ । त्यसैले काम खोज्दा-खोज्दा जीवन जिउने सुत्र फेला परेको महसुस हुँदैछ आजकल।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments