एजेन्सी । जति नै राम्रो खेलेपनि गोल नगरेसम्म फुटबल जितिन्न। जुन टिमले बढी गोल गर्छ,उसैले खेल जित्छ।  उसैले उपाधि हात पार्छ।

रुसमा हुने विश्वकप फुटबल सुरु हुन अब केही दिन मात्र बाँकी छ। टिमहरु प्रतियोगिताकाे अन्तिम तयारीमा छन्। अघिल्लो विश्वकपको फाइनलमा जर्मनीले एकै गोल गरेर उपाधि जितेको थियो।

विश्वकपमा टिमले गर्ने गोल र खेलाडीले गर्ने गोलका आ-आफ्नै अर्थ हुन्छन्। विश्वकप इतिहासमा एउटै खेलमा एक खेलाडीले पाँच गोलसम्म गरेका छन्। सन् १९९४ जुन २९ तारिखमा रुसले क्यामरुनलाई ६-१ गोलले हराउँदा ओलेग सालेन्को एक्लैले पाँच गोल गरेका थिए।

सन् १९३८ को विश्वकपमा ब्राजिलले पोल्यान्डलाई ६-५ गोलले हराउँदा पोल्यान्डका अर्नेस्ट विलिमोस्कीले चार गोल,सन् १९५० को  विश्वकपमा ब्राजिलले स्वीडेनलाई ७-१ गोलले हराउँदा एडेमिरले चार गोल, सन् १९५४ को विश्वकपमा हंगेरीले पुर्वी जर्मनीलाई ८-३ गोलले हराउँदा सान्डोर कोक्सिसले चार गोल, सन् १९५८ को विश्वकपमा फ्रान्सले पुर्वी जर्मनीलाई ६-३ गोलले हराउँदा जस्ट फोन्टाइनले चार गोल, सन् १९६६ को विश्वकपमा पोल्यान्डले उत्तर कोरियालाई  ५-३ गोलले हराउँदा युसिबियोले चार गोल र सन् १९८६ को विश्वकपमा स्पेनले डेनमार्कलाई ५-१ गोलले हराउँदा एमिलियो बुट्रागुएनोले चार गोल गरेका थिए। यीबाहेक विश्वकपका अन्य खेलमा  ४४ पटकसम्म ह्याट्रिक भएको छ।

अर्जेन्टिनाका गाब्रियल बाउटिस्टाले दुई पटक तीन तीन गोल र जर्मनीका गर्ड मुलरले दुई पटक तीन तीन गोल गरेका छन्।  सान्डर कोक्सिस र  जस्ट फोन्टाइनले एक पटक तीन गोल पनि गरेका छन्। बाउटिस्टा, मुलर, कोक्सिस र फोन्टाइनले एउटै विश्वकपमा दुई पटक ह्याट्रिक गरेका थिए।

सन् १९३० को विश्वकपमा अमेरिकाले पाराग्वेलाई ३-० गोलले हराउँदा बर्ट पार्टेन्युडले, सन् १९३४ को विश्वकपमा चेकोस्लोभाकियाले जर्मनीलाई ३-१ गोलले हराउँदा ओल्ड्रिच नेजेड्लीले, सन् १९७० को विश्वकपमा जर्मनीले पेरुलाई ३-१ गोलले हराउँदा गर्ड मुलरले र सन् १९७८ को विश्वकपमा नेदरल्यान्ड्सले इरानलाई ३-० गोलले हराउँदा रब रेनसेनब्रिन्कले ह्याट्रिक गरेका थिए।

यसैगरी सन् १९८२ को विश्वकपमा पोल्यान्डले बेल्जियमलाई ३-० गोलले हराउँदा जिबिनिउ बोनिकले र इटालीले ब्राजिललाई ३-२ गोलले हराउँदा पाउलो रोस्सीले ह्याट्रिक गरेका थिए। सन् १९८६ को विश्वकपमा इङ्ल्यान्डले पोल्यान्डलाई ३-० गोलले हराउँदा गेरी लिंकरले र सन् १९९० को विश्वकपमा स्पेनले दक्षिण कोरियालाई ३-१ गोलले हराउँदा मिचेलले ह्याट्रिक गरेका थिए।

विश्वकपमा अन्तिम पटक स्विजरल्यान्डका जद्रान साकिरीले ह्याट्रिक गरेका थिए। उनले सन् २०१४ को विश्वकपमा होन्डुरसलाई ३-० गोलले हराउँदा सबै गोल आफै गरेका थिए।

कुनै एक विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान फ्रान्सका जस्ट फोन्टाइनको नाममा छ। उनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेका थिए। ह‌ंगेरीका सान्डर कोक्सिसले सन् १९५४ को विश्वकपमा ११ गोल गरेका थिए। पोल्यान्डका युसिबियोको नाममा छ। उनले सन् १९६६ को विश्वकपमा नौ गोल गरेका थिए। अर्जेन्टिनाका गुलेर्मो स्टेबिलले सन् १९३० मा तथा ब्राजिलका एडेमिरले सन् १९५० को विश्वकपमा समान ८ गोल गरेका थिए।

विश्वकपमा सर्बकालिन सर्वाधिक गोलकर्ताको कीर्तिमान जर्मनीका मिरोस्लाम क्लोजको नाममा छ। क्लोजले १६ गोल गरेका छन्। ब्राजिलका रोनाल्डोले १५ गोल गरेका छन्। जर्मनीका गर्ड मुलरको नाममा १४ गोल गरे।

एउटै खेलमा १२ गोलसम्म

विश्वकप इतिहासमा एकै खेलमा १२ गोलसम्म भएको तथ्यांक छ। सन् १९५४ को विश्वकपमा अस्ट्रियाले स्विजरल्यान्डलाई ७-५ गोलले हराएको थियो। सन् १९३८ मा ब्राजिलले पोल्यान्डलाई ६-५ गोलले,सन् १९५४ मा ह‌ंगेरीले पुर्वी  जर्मनीलाई ८-३ गोलले र सन् १९८२ मा हंगेरीले एल साल्भाडोरलाई १०-१ गोलले हराएको थियो।

Comments

comments