मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा हत्या अभियोग लागेका नेपाली सेफ हरिप्रसाद ढकाललाई २३ वर्षको जेल सजाय सुनाइएको छ ।

भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत सेफ ढकालले सन् २०१६ अक्टोबर २५ मा रक्सीले मातेर रेष्टुरेन्टमा होहल्ला गर्ने एक पाकिस्तानी ग्राहकको हत्या गरेको अभियोग लागेको थियो । लामो अदालती बहसपछि ढकालले चक्कु प्रहार गरी ती ग्राहकको हत्या गरेको ठहर गरेको हो । ५१ वर्षीय ढकाल आफैंले पाकिस्तानी मुलका ३८ वर्षीय अब्दुल्लाह सिद्दिकीलाई चक्कु प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन् ।

ढकाल अष्ट्रेलियामा अवैध रुपमा बसोबास गरिरहेको समेत भेटिएकाले जेल सजाय भुक्तान गरिसकेपछि उनलाई नेपाल फिर्ता गरिने छ ।

घटनाको दिन बेलुकी एक्लै रेष्टुरेन्टमा रक्सी पिएर बसिरहेका पाकिस्तानी मुलका सिद्दिकीसँग भनाभन भएपछि रिसाएका ढकालले किचनबाट चक्कु ल्याएर सिद्दिकी माथि १७ पटक प्रहार गरेर हत्या गरेका थिए । सिद्दिकीको हत्यापछि ढकालले रगत लत्पतिएको चक्कुलाई कपडाले बेरेर झोलामा राखी ब्रिज मल हुँदै बालारात प्रहरी चौकीमा पुगी आफैंले आत्मसमर्पण गरेका थिए ।

अदालतमा ढकालले आफ्नो प्रतिरक्षा गर्दा सिद्दिकीको मृत्यु हुन पुगेको बयान दिएका थिए तर, अदालतले उनलाई दोषी ठहर्याउँदै उनको दावीलाई अस्वीकार गरिदिएको छ ।
न्यायाधीस लेक्स लेस्रीले ‘यो निकै नै दुखद मुद्दा भएको बताउदै हत्या गर्नै पर्ने गरी सिद्दिकीले चुनौती नदिएको तर्क गरेका छन् ।

Comments

comments