काठमाडाैं । सांसद गजेन्द्र बहादुर महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रुनुभएको छ ।

२०७५ /0७६ का लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा विहिबार आफ्नो धारणा राख्दै गर्दा सांसद महत प्रतिनिधी बैठकमै रुनुभएको हो । समाजवाद उन्मुख नभई सांसद तह लगाउने बजेट सरकारले ल्याएको र अर्थमन्त्रीले सांसदहरुको अपमान गरेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाधेर राख्न पाईन्छ भन्या ? हामीलाई तह लगाउन पाईन्छ ? हामीलाई अपमानित गर्न पाईन्छ ? हामीलाई वडाअध्यक्षको ठाउमा लिएर राख्न पाईन्छ भन्या ?कोही मन्त्री हुदैमा पाईन्छ ? त्यो अधिकार कसैलाई छ चाहिने कुरा गर्नुहोस् न भन्या । चाहिएको छैन हामीलाई ४ करोड ? ४ करोडले आपुहरुको असाध्यै अपमान गरेको भन्दै उहाँले भन्नुभयो ‘स्थानीय तहमा वडा अध्यक्ष र वडा सदस्य बसालेर विनियोजन गर्नुपर्ने ? कहि मिल्ने कुरा हो । कसैले सहन्छ ?’

आफ्नो विरोधले केही नहुने जान्दा जान्दै पनि आफूले बजेटप्रतिको असन्तुष्टि राख्नु परेको उल्लेख गर्दे उहाँले भन्नुभयो ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन । कमजोर बस्तुको बचाउ गरिन्छ बलियो बस्तुको सायद बचाउ गरिन्न । सिति मिति सायद यो हल्लिदैन । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो तपाईहरुको विरोधले मलाई केही हल्लाउदैन । मैले त्यही शब्द सापटी लिएँ । विरोधले खासै हल्लिने देख्दिनँ । तर पनि बजेटले मलाई हल्लाईरहेको छ । हुम्लालाई हल्लाइरहेको छ ।’

बजेट शहर केन्द्रित भएको भन्दै उहाँले कर्णाली र जुम्लालाई बजेटले सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ‘बजेट मेरा लागि आकाशको फल आखा तरी मर, लंकामा सुन छ कान मेरो बुच्चै, न घरको न घाटको, न हर्ष न विस्मात छ । मेरा लागि र मेरो जुम्लाका लागि ।’

रोजगारीको जिम्मा सबै बैकलाई र स्वास्थयको जिम्मा बिमा संस्थानलाई दिने सरकारको निति गलत भएको टिप्पणी गर्नुभयो । उहाँले थप्नुभयो ‘हिजोका सामन्त र मुखियाहरुले आज बैक थापेर बसेका छन् जसलाई रोजगारीको जिम्मा लगाईएको छ । स्वास्थ्यको जिम्मा बिमा संस्थानलाई लगाईएको छ । कर्णाली र जुम्लाका जनता विमाको कागत लिएर कहाँ जाने ? काठमाडौ आउन जान ५० हजार भाडा लाग्छ । बिमा कागज लिएर म कता जाने ?’

Comments

comments