सिड्नी । अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले उत्तरी भूभागको एक शहरकी मेयरलाई लगातार छाडा गाली गरेपछि माफी मागेका छन् ।

गत डिसेम्बर महिनामा क्याथरिन फे मिलरसँगको कुराकानीका क्रममा ‘कडा भाषा’ प्रयोग गरेको गल्ती थियो भनी हन्टले स्वीकारे ।

हन्टले आफ्नो अनुहारनजिक ल्याएर औंला देखाएको आरोप पनि मिलरले लगाएकी थिइन् । उनको यो व्यवहार ‘नारीविरोधी’ रहेको मिलरको भनाइ छ र यसमा हन्टले कुनै प्रतिक्रिया दिएका छैनन् ।

स्थानीय क्षेत्रमा फैलिएको रोग नियन्त्रणका लागि रकम विनियोजन सम्बन्धमा उनीहरू कुराकानी गरिरहेका थिए ।

कुराकानीका क्रममा आफूले अझ बढी रकमको माग गर्दा हन्टको बोली एक्कासि परिवर्तन भएको मिलर बताउँछिन् ।

‘मैले बढी रकम माग्दा शायद उनको कुनै स्विच अन गरेंछु किनकि त्यसपछि उनले कुर्सी सारे अनि मतिर फर्काए,’ उनले पत्रकारहरूलाई बिहीवार बताइन् । त्यसपछि हन्टले छाडा गाली दिएको र बढी रकम पाइने कुरा ‘बिर्सन’ भनेको मिलर बताउँछिन् ।

‘त्यसपछि उनले थप केही वाक्यहरू बोले अनि अभद्र शब्द प्रयोग गरे । म एकदमै स्तब्ध भएँ । उनी त्यसपछि कुर्सीमा बसे अनि भने, तिमी त जोधाहा छ्यौ भन्ने सुनेको छु,’ मिलरले भनिन् ।

हन्ट अस्ट्रलियालाई भविष्यमा नेतृत्व गर्ने व्यक्तिका रूपमा हेरिन्छन् । उनले आफ्नो भाषाप्रयोगका लागि इमान्दारीका साथ माफी मागेको बताए ।

-बीबीसीबाट

Comments

comments