काठमाडौं । सरकारले सन् २०२० लाई भिजिट नेपाल वर्षको रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ ।

संघीय संसदमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सन् २०२० मा भिजिट नेपाल २०२० सञ्चालन गर्ने योजना सुनाउनुभएको हो ।

यसै आर्थिक वर्षभित्र १०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी प्रवर्द्धन गरिने लक्ष्य रहेको उल्लेख गर्दै उहाँले स्तरीय होटल तथा पर्यटन पूर्वाधार विकासलाई सहज बनाइने बताउनुभयो ।

सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै  अर्थमन्त्री डा युवराज खतिवडाले हवाइ क्षेत्रमा १९ अर्ब बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक बजेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थलको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ।

यस्तै उहाँले आगामी ३ वर्षमा रानीपोखरी र धरहरा निर्माण गरिसक्ने लक्ष्य समेत सुनाउनुभयो ।

Comments