काठमाडाैँ । रियल मड्रिडले लगातार तेस्रोपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । युक्रेनको राजधानी किएभमा भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले उपाधि जितेको हो ।

गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर लोरिस कारिउसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ ।

बेञ्चबाट आउँदै बेलले च्याम्यिन्स लिगको फाइनलको सबैभन्दा उत्कृष्ट गोल मध्ये एक गरे भने लोरिसलाई अर्को गल्ती गर्न बाध्य बनाएपछि लिभरपुललाई ३–१ गोलले अन्तरले हराउँदै रियल युरोपियन च्याम्पियन बनेको हो ।

लिभरपुलका मुख्य हतियार मोहम्मद सलाह चोटका कारण खेलको आधा घण्टामा नै मैदानबाट बाहिरिनु लिभरपुलका लागि दूर्भाग्य बन्यो । पहिलो हाफमा सर्जियो रामोससँग जुधेपछि काँधमा चोट बोक्दै ३० औं मिनेटमा सलाहले मैदान छाडे । सलाहले बाहिरिने क्रममा आँसु थाम्न सकेनन् ।

रियलले उपाधि जित्दा उसका प्रशिक्षक जिनेदिन जिदानलाई विश्वका उत्कृष्ट प्रशिक्षकको सूचिमा राखेको छ । उनले लिभरपुलका बोब पेइस्ले र रियालका पूर्व म्यानेजर कार्लो एन्सेलोटिसँग बराबरी पनि गरेका छन् । तर च्याम्पियन्स लिगको उपाधि लगातार तीन पटक जित्दा उनको सफलता एक स्थान माथि पुगेको छ ।

 

Comments

comments