काठमाडौं । लभस्टोरी जनराका फिल्ममा देखिँदै आएकी अभिनेत्री नम्रता श्रेष्ठलाई नयाँ चलचित्र ’जाइरा’मा भने विल्कुलै फरक अवतारमा देख्न पाइने भएको छ । हाल पोष्ट प्रोडक्शनको काम भइरहेको यो चलचित्रमा उनी एक मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदै छिन् ।

नेपाली चलचित्र क्षेत्रमा आफ्नो सौन्दर्य र फिटनेशका कारण लोकप्रि रहँदै आएकी नम्रता श्रेष्ठ अभिनयमा पनि उत्तिकै अब्बल छिन् । साथै चलचित्र जाइरामार्फत उनले आफू कामप्रति समर्पित पनि छिन् भन्ने प्रष्ट पारेकी छिन् । किनभने यस चलचित्रका लागि उनले आफ्नो लोभलाग्दो कपाल छोट्याएकी छिन् । कपाल काटेर स्पोर्टी गेटअपमा कार्यक्रमस्थलमा उपस्थित भएकी अभिनेत्रीलाई सजिलै चिन्न गाह्रो पथ्र्यो ।

यस चलचित्रका लागि अभिनेत्री श्रेष्ठले आफ्नो तौल ५१ किलोबाट घटाएर ४३ केजी बनाएकी छिन् भने आफ्नो लोभलाग्दो कपाल समेत छोट्याएकी छिन् । कार्यक्रममा नम्रताले सबै कुरा स्वभाविक देखियोस् भनेर तौल घटाउनुको साथै कपाल पनि कटाएको बताइन् । खेलाडीको भूमिकालाई न्याय दिलाउन ६ महिना एक्सन सिकेको जानकारी दिइन् ।

चलचित्रको निर्देशन आशुतोष राज श्रेष्ठले गरेका छन् । एक्सन जनरामा निर्माण भएको चलचित्र ’जाइरा’ आगामी मंसिर १४ गतेबाट देशभर प्रदर्शनमा आउनेछ ।

Comments