-अनुपराज अर्याल

सन् २०१३ मा म मेलबर्न आउने अघिल्लो दिन आफन्तले कोठा खोजेको ठाउँमा कोठा नमिलेपछि साथीको घरमा आइ कसेको थिएँ । त्यहाँ सात दिन बसेर साथीले खोजेको कोठामा सर्दाको हर्षोल्लास हिजो जस्तो लाग्छ । सुरुमा आउँदा केही कुरा थाहा थिएन, केही राम्ररी बुझेको थिइनँ । त्यसैले अल्मलमा थिएँ म ।

कुनै नेपाली कतै भेट्दा बोलूँ बोलूँ जस्तो लाग्थ्यो र बोलिन्थ्यो पनि । कोही राम्ररी बोल्नु हुन्थ्यो आत्मीयता देखाउदै । कोही बोल्नुहुन्थ्यो आफ्नो व्यापारिक स्वार्थकालागि । कसै कसैले त बोल्दा पनि उनीहरुको महिना भरीको तलब मागेको जस्तो गर्नुहुन्थ्यो । कोहिले भरखरै आएको भन्ने थाहा पाएपछि हेपाहा प्रवृत्ति देखाइहाल्थे भने ठग्न खोज्ने नेपालीसम्म भेटेको छु ।
सबै क्षेत्रमा सबै राम्रा मान्छे मात्र हुन्नन् भन्ने राम्रोसँग थाहा छ । तर थाहा पाएर पनि अरुको भोगाइ र भनाइकोभरमा जीवनको निर्णय गर्दा अलिअलि दुः ख पनि भोगियो । ज्ञान आर्जन गर्नलाई संघर्ष गर्न राजी भएर मेलबर्न आएको पनि धेरै भयो । कति कुरा सिक्न नसकेर पछि परियो । समयमा हरेक कुरा सिक्न पर्छ भन्ने दुःख पाएपछि थाहा भयो । कति कुरा नबुझेर गल्ती गरियो भने कुनै कुरा नजान्दा अरुको अगाडि लज्जित समेत हुनुपर्यो ।

अष्ट्रेलियामा आउनुअघि नै धेरै कुरामा सजग हुनुपर्ने कुरा केही साथीभाइबाट थाहा नभएको होईन, तर आफूलाई नपरी सत्य पनि कथा लाग्दो रहेछ । समय बलवान छ भन्छन्,समय सत्यवान छ भन्छन् तर मलाई यो कुरा बुझ्न अलि धेरै समय लाग्यो । किनभने राम्रो र सत्यवान मानिसहरु भेट्न अलि समय लागेको महशुस भयो । तर यहाँ आएर सबैभन्दा बढी संघर्ष गर्न जानें । यसैलाई उपलब्धी मानेको छु ।

विद्यार्थी जीवन कहाँ सजिलो छ र ? त्यसमाथि अष्ट्रेलियाको जीवनशैली । पढाई र काम बिच चाप थियो । तैपनि फुर्सदको समयमा केही सिक्ने क्रमलाई निरन्तरता दिइनै रहें । आफूलाई निखार्दै लैजाने प्रयास पनि नगरेको होइन । पढाइमा खासै राम्रो श्रेणी ल्याउन नसकेपनि आफ्नो व्यवहारलाई मिलाइ सानो सानो उपलब्धी खुशीलाई नै सुखमा परिणत गर्न भने सिकियो । यसले अष्ट्रेलिया जस्तो ठाउँमा मल्हमको काम गर्दो रहेछ । तर यी सब जानेर पनि भविष्यको सही योजना बनाउन भने कहिल्यै जानिनँ । त्यसैले पछि परेको अनुभूति गर्छु कहिलेकाहीं ।

आज विगतलाई फर्केर हेर्दा,मैले के के बुझ्न सकेको रहेनछु भन्ने छर्लङ्ग हुन्छ । केही कुरा नबुझेर दुःख पाएको याद अझै ताजा छ, केही कुरा गलत बुझेर गरेको गल्तीको पिडा अहिलेपनि महशुस गर्द्छु । जीवनमा हरेक कुरा पैसा हुन्न, व्यक्तिगत आत्मसम्मान र आत्मसन्तुष्टि पनि हुन्छ । म आफ्नो आवश्यकता अनुसार कमाइमा विश्वास गर्दछु । अनि मेरो लागि मानवता, ईमानदारिता र नैतिकता महत्त्वपूर्ण छ । म यी तीन कुराको भित्री आत्मबाट सम्मान गर्दछु ।

मलाई प्रख्यात हुनु र आफूलाई धेरै माझ चिनाउनु भन्दापनि मेरो सोंच र विचारलाई मेरो उमेरभन्दा सानो सबैले बुझी जीवन सफलपुर्वक बिताऊन् भन्ने चाह छ । मैले जे कुरा नबुझेर दुःख पाएँ, त्यो कसैले नपाऊन्,मैले जे गल्ती गरें ,त्यो कसैले नगरुन् भन्ने चाहन्छु । यसैगरी म अरुले गरेको मूल्याकंनमा भन्दा अरुको साथको अपेक्षामा विश्वास गर्दछु ।

म चाहन्छु कोही पनि गलत बाटोमा नहिडून् । त्यसरी गलत बाटो रोजेकाहरुलाई पनि म सुधार्न प्रयास गर्छु तर सुतेको नाटक गर्नेलाई उठाउन साह्रै गाह्रो काम रहेछ । साँच्चि त्यस्ता व्यक्तिहरुलाई सुधार्ने कसरी ?

Comments

comments