काठमाडौं । साढे ३३ किलो सुन गायव र सनम शाक्य हत्या प्रकरणको मुख्य योजनाकार मानिएका गोरे भनिने चूणामणि उप्रेती पक्राउ परेका छन् । भारतमा पक्राउ परेका गोरेलार्इ स्वेदश ल्याइसकिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका गोरेलाई मध्याह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको छ ।

२०६९ सालदेखि संगठित रूपमा सुन तस्करी शुरु गरेका गोरेले आफूसँगै काम गर्ने सनम शाक्यको हत्या गरेपछि सुन तस्करी प्रकरण सतहमा आएको थियो ।

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन हराएको भनिएपछि गोरेले नै सनमको हत्या गरेका थिए ।

सनमको हत्यापछि सरकारले गृहमन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा विशेष समिति गठन गरी अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धान समितिले सुन तस्करीमा संलग्न भन्दै प्रहरीका बहालवाला एसएसपीदेखि पूर्वडिआईजी र जवानसहित ३० जनालाई पक्राउ गरी उनीहरुविरुद्ध संगठित अपराध लगायतमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो ।

सुन तस्करीमा संलग्न अभियुक्तको जिल्ला अदालत मोरङमा थुनछेक बहस चलिरहेको छ ।

विभिन्न व्यापारीबाट पैसा उठाएर मगाइएको साढे ३३ किलो सुन गायव भएपछि गोरेले सनमलाई यातना दिएर हत्या गरेका थिए ।

मोरङको उर्लावारी–७ का सनम शाक्यको गत फागुन १९ गते उर्लावारीको जंगलमा शव फेला परेको थियो ।

Comments

comments