काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भोलि विहीबार नै पार्टी एकता हुने भएको छ ।

स्रोतका अनुसार जबजका सुत्रधार मदन भण्डारीको स्मृति दिवसको सन्दर्भ पारेर पार्टी एकताका लागि दुवै दल आन्तरिक तयारीमा जुटिसकेका छन् । एकता तयारीका लागि एमालेले आज दिउँसो ४ बजे स्थायी समिति र भोलि बिहान ११ बजे केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । यस्तै माओवादीले पनि आज बुधवार ४ बजे नै केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । दुई पार्टीको बैठकमा एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ ।

मदन भण्डारीको २५ औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका हुन् । २०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो । भण्डारीको स्मृतिमा भोली बिहान मदननगर बुल्खुमा विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ विशेष वक्ताको रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुनेछन् ।

भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, ११ बजे एमालेको केन्द्रीय समिति बैठक बस्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर साँझ ५ बजे पत्रकार सम्मेलनमार्फत पार्टी एकताको घोषणा गर्ने तयारी भएको उच्च स्रोतले जनाएको छ ।

Comments

comments