काठमाडौं । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले सगरमाथाबाट ३६ करोड १४ लाख ९८ हजार ३ सय १२ रुपियाँ रोयल्टी संकलन गरेको छ । त्यसमध्ये नेपाली आरोहीबाट १५ लाख र विदेशीबाट ३५ करोड ९९ लाख ९८ हजार तीन सय १२ रोयल्टी संकलन भएको हो।

सगरमाथा आरोहणको अनुमति प्राप्त गर्नेमध्ये विदेशी ३ सय २६ जना छन् भने नेपालीको संख्या २० छ। तीमध्ये पुरुष २ सय ८६ र ६० महिला आरोही छन्। र, हालसम्म ८ जना नेपाली आरोहीहरु सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन्।

गत वर्ष १ सय ९२ विदेशी र २ सय ५७ नेपालीसहित ४ सय ४९ जनाले सगरमाथाको आरोहण गरेका थिए।

सगरमाथा आरोहणका लागि विदेशीले प्रतिव्यक्ति ११ हजार डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीले ७५ हजार रुपियाँ रोयल्टी तिर्नुपर्छ। सगरमाथा आरोहणका लागि बढीमा १५ जनाको समूह बनाउन पाउने व्यवस्था छ।

यो व्यवस्था अनुसार सन् २०१७ मा ४३ वटा समूहका ३ सय ६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३ सय १८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए।

आरोहण अनुमति दिएका २८ हिमालहरुबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रुपैंया रोयल्टी संकलन भएको छ।

Comments

comments