काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आजदेखि मुलुकभर लोडसेडिङ अन्त्य भएको घोषणा गर्दैछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य भएको घोषणा गर्न लागिएको बताउनुभयो । लामो समयको प्रयासपछि औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि हटेसँगै मुलुक पूर्णरुपले लोडसेडिङमुक्त भएको उहाँले बताउनुभयो ।

‘नेपाल विद्युत प्राधिकरणले सोमबारबाट नै औद्योगिक क्षेत्रमा भैरहेको दैनिक तीन घण्टासम्मको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ ।’ घिसिङले भन्नुभयो, ‘सोमबारदेखि नै औद्योगिक क्षेत्रको लोडसेडिङ हट्दैछ ।’

चैतमा प्राधिकरणको भार प्रेषण केन्द्रको निरीक्षणका क्रममा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनले वैशाखबाट लागू हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न निर्देशन दिनुभएको थियो ।

सोही निर्देशनका आधारमा औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्यको घोषणा गरिएको कार्यकारी निर्देशक घिसिङ बताउनुभयो ।

‘खोला तथा नदीमा बृद्धि भएको पानीको वहावका कारण रन अफ रिभर आयोजनाबाट विद्युत उत्पादनमा भएको बृद्धि, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरेका हौं, घिसिङले भन्नुभयो, ‘अब मुलुकपूर्णरुपमा लोडसेडिङमुक्त भएको छ ।’ अहिले औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

प्राधिकरणले २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रुपमा काठमाडौं उपत्यका लगायत मुलुकका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मौजुदा प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारण÷बितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मत सम्भार एवै विकास निर्माणका कारण समय समयमा हुन सक्ने विद्युत आपूर्तिको अवरोधलाई लोडसेडिङ नभनिदिन आग्रह गर्नुभयो ।

Comments