काठमाडौं । यस वर्ष जेठ २ गतेबाट अधिकमास शुरु हुँदैछ ।

अधिकमास भनेको बढी भएको महिना हो । एक वर्षमा बाह्र (१२) महिना हुन्छन् । गतेका आधारमा हुने वैशाख, जेठ आदि सूर्यको गतिचक्रका आधारमा मानिने सौरमहिना हुन् भने तिथिका आधारमा गनिने चान्द्रमहिना पनि हुन्छन् । यी तिथिहरू चन्द्रमाको कलाको क्षयवृद्धिका आधारमा गणना गरिन्छन् । गतेका आधारमा हुने सौरमहिना सामान्यतया तीस (३०) दिनको भएजस्तै तिथिका आधारमा हुने चान्द्रमहिना पनि तीस (३०) तिथिकै हुन्छ । एक चान्द्रमहिनामा तीस (३०) तिथि र शुक्ल र कृष्ण गरी दुई पक्षहरू हुन्छन् । त्यसैले तिथिका आधारमा विचार गर्दा एक वर्षमा सामान्यतया बाह्र (१२) चान्द्रमहिना र चौबीस पक्षहरू हुन्छन् । तर अधिकमास परेको वर्षमा तिथिका हिसाबले हुने चान्द्रमहिनाको संख्या तेह्र (१३) र पक्षको संख्या पनि छब्बीस (२६) हुन्छन् । त्यसैले हरेक सामान्य वर्षभन्दा अधिकमास परेको वर्षमा तिथिका हिसाबले एक महिना बढी हुन्छ । यही बढी भएको महिनालाई नै अधिकमास भन्ने गरिन्छ ।

सौरमास र चान्द्रमासका बीच अन्तर बढ्दै जाँदा हरेक तीन वर्षभित्र एक महिना पुग्छ र अधिकमासको स्थिति देखापर्छ । सामान्यतया दुई (२) वर्ष, आठ (८) महिना, सोह्र (१६) दिन र चार (४) घडी पुगेपछि अधिकमास पर्ने सम्भावना हुन्छ । सूर्य र चन्द्रको गतिस्थितिका आधारमा यो निर्धारित हुन्छ । सूर्यको गति कम भई दिनहरू लामा हुने र महिनामा तीस (३०) दिनभन्दा बढी हुने सौरमासहरूमा अधिक चान्द्रमासको सम्भावना रहन्छ । तसर्थ प्रायः वैशाखदेखि असोजसम्ममा अधिकमास पर्दछ । तर क्षयमास परेको समयमा फागुन, चैतमा पनि अधिकमास पर्ने सम्भावना हुन्छ । त्यसैले सामान्यतया हरेक तीन वर्षभित्र फागुनदेखि असोजसम्मका मासहरूमा अधिकमास पर्दछ । जस्तो — वि। सं। २०७२ को असार महिनामा अधिकमास थियो र त्यसपछि आएर अहिले वि। सं। २०७५ को जेठ महिनामा अधिकमास परेको छ ।

अधिकमास भनेको एक प्रकारको विकार नै हो । त्यसैले ज्योतिषका फलित ग्रन्थहरूमा विशेष गरी संहिता ग्रन्थहरूमा अधिकमासको प्रायः अशुभ फलहरू नै बताइएको पाइन्छ तर अधिकमासको शुभाशुभ फलहरू अधिकमास परेको मासका आधारमा निर्धारित हुन्छन् । यस वर्ष जेठमा अधिकमास परेको छ । जेठमा अधिकमास पर्दा राष्ट्रमा शस्त्रकलहको स्थिति, राज्यपक्षबाट जनतालाई भय, चोरी–डकैतीको डर, घिउ, तेलजस्ता स्नेहजन्य पदार्थ र धान्यादि वस्तुहरूको मूल्यवृद्धिजस्ता फलहरू प्राप्त हुने कुरा ज्योतिषका संहिता ग्रन्थहरूमा बताइएको पाइन्छ ।

Comments

comments