काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणको मूलभूत उदेश्य के हो ? भन्नेबारे प्रष्ट जवाफ अहिलेसम्म कतैबाट आएको छैन ।

शुक्रबार र शनिबार दुई दिनको भ्रमणका लागि नेपाल आएका मोदीले जनकपुरमा जानकी मन्दिरदेखि मुस्ताङमा मुक्तिनाथसम्मको दर्शन गरे । यसर्थ धेरैले मोदीको यो भ्रमणलाई धार्मिक भ्रमण भनिएको छ ।

हुन त मोदी स्वयंले जनकपुरमा भने– म अहिले प्रधानमन्त्री भन्दा पनि प्रधान धार्मिक यात्रु भएर आएको हुँ ।

तर, धार्मिक भ्रमण भए पनि यसको कुटनीतिक अर्थ निकै ठूलो छ । दुई वर्षअघिको नाकाबन्दीका कारण नेपालसँग मोदीको सम्बन्ध चिसिएको भन्ने जुन बुझाई थियो, उनी त्यसलाई मेट्न चाहन्थे ।

यसअघिको केपी शर्मा ओलीको कार्यकालमा भारतसँग सम्बन्ध चिसिए लगत्तै नेपालले चीनतिर झुकाव बढाएको भारतीय अधिकारीहरुको बुझाइ छ ।

त्यसो त २०७३ सालदेखि ओली सार्वजनिक रुपमा नै बारम्बार भारतको आलोचना पनि गरे । उनले भारतलाई नेपालको आन्तरिक मुद्दा–मामिलामा हस्तक्षेप गरिरहेको आरोप पनि लगाए ।

त्यति मात्र होइन, जारी गरिएको नयाँ संविधानमा मधेशकेन्द्रित दलको विरोध पनि भारतको उक्साहटमा भएको आरोप नेपालले लगाएको भारतीय अधिकारीहरुको अध्ययनले निष्कर्ष निकालेको छ ।

त्यसैले, मोदीको यो नेपाल भ्रमणलाई भारतमै पनि विशेष चासोका साथ हेरिएको छ ।

भारतीय प्रोफेसर तथा विदेशबारे जानकार विश्लेषक पिनाकी चक्रवतीले मोदीको यो भ्रमणलाई नेपालमा चिनियाँ प्रभाव कम गर्नुमात्र उद्देश्य रहेको बताएका छन् । भारत–नेपालबीच बढेको असमझदारीपछि चीनले नेपालमा आर्थिक सहयोग तथा लगानी बढाएको छ । मोदीको यो भ्रमण यही चिनियाँ प्रभाव कम गर्न केन्द्रित रहेको पिनाकीको विश्लेषण छ ।

चीनको वान बेल्ट वान रोडमा भारतको असहमति छ । तर, नेपाल त्यसमा समावेश भइसकेको छ । चीनको केरुङबाट काठमाडौंसम्म बनाउने भनिएको रेल लाइनको विषयमा पनि भारतले निकै चासो दिएको, पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्पनीको सहभागितालगायतका विषयले मोदीलाई चिन्तित बनाएको र यी सब कुरा कम गर्न मोदीले नेपाल भ्रमण गरेको पिनाकीको विश्लेषण छ ।

‘अहिले मोदी नेपाल आफ्नो हातबाट निस्किएर चिनियाँ हातमा नपुगोस् भन्ने चाहन्छन्,’ पिनाकीले भनेका छन्, ‘त्यसैले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अगावै मोदीले यो भ्रमण गरेका हुन् ।’

Comments

comments