काठमाडौं । यो साता सामाजिक सञ्जाल युट्युवको नेपाल ट्रेण्डिङको टप ५० मा ७ गीतहरुले स्थान पाएको छ । ट्रेण्डिङमा परेका लोकगायक पशुपति शर्मा,गायिका अञ्जु पन्त पन्त र गायक नरेन लिम्बुवाहेक अरु सबै नयाँ आवाज छन् ।

कुरेर बस्छु म /स्वप्न सुमन

यो हप्ता युट्युवको नेपाल ट्रेण्डिङको चौथो स्थानमा गायक स्वप्न सुमनको कुरेर बस्छु म गीतको भिडियो रहेको छ । मंगलवारसम्म यो गीतले झण्डै ४ लाख ५० हजार भ्यूज पाएको छ ।

रंगशालाजत्री / पशुपति शर्मा,सीता केसी र माया गुरुङ

चर्चित लोकगायक पशुपति शर्माको नयाँ गीत यो हप्ता युट्युव ट्रेण्डिङको ११ औं नम्बरमा रहेको छ । यो गीत टप फिप्टीभित्र परेको एक मात्र लोक गीत समेत हो । रंगशालाजत्री बोलको गीतले झण्डै ६ लाख भ्यूज पाएको छ भने साँढे पाँचसय बढीले कमेन्ट्स लेखेका छन् । एक हप्ताअघि मात्र सार्वजनिक गरिएको यस गीतमा गायक शर्मालाई गायिकाद्धय सीता केसी र माया गुरुङले साथ दिएका छन् ।

रातमा/जेम्स श्रेष्ठ

१३ औं स्थानमा गायक जेम्स श्रेष्ठको अब आउने नयाँ गीत रातमाको ट्रेलर रहेको छ । पाँच दिनअघि अपलोड भएको जम्मा ५५ सेकेण्डको यो ट्रेलरले झण्डै एक लाख पचास हजार भ्यूज पाएको छ ।

मुस्कान/सज्जनराज वैद्य

गत हप्ता पाँचौं स्थानमा रहेको गायक सज्जनराज वैद्यको लिरिकल भिडियो मुस्कान यो साता भने १९ स्थानमा पुगेको छ । मुस्कान भिडियोले करिब ६ लाख भ्यूज पाएको छ । गत हप्ताको तुलनामा यो दोब्बर भ्यूज हो ।

फ्लर्टी माया /नितेशजंग कुँवर

मुस्कानपछि एकैपटक नेपाल ट्रेण्डिङको ४२ औं स्थानमा नेपाली म्यूजिक भिडियोले स्थान पाएको छ । दुई साता अघि रिलिज भएको गायक नितेशजंग कुँवरको फ्लर्टी माया बोलको गीतको भिडियोले झण्डै २० लाख बढी भ्यूज पाएको छ ।

नरुनु है /अञ्जु पन्त

लोकप्रिय गायिका अञ्जु पन्तको नयाँ गीत नरुनु है पनि यो साता युट्युव ट्रेण्डिङमा परेको छ । नायिका शिल्पा पोखरेल अभिनित गीतलाई चार दिनमा झण्डै एक लाख ५० हजार पटक हेरिसकिएको छ । यो भिडियो नेपाल ट्रेण्डिङको ४८ औं स्थानमा रहेको छ ।

ममता /नरेन लिम्बु

यो साता नेपाल ट्रेण्डिङको टप फिप्टीको अन्तिम गीतका रुपमा गायक नरेन लिम्बुको ममता बोलको गीत रहेको छ । ४९ औं स्थानमा रहेको यो गीतले अपलोड भएको २४ घण्टामा झण्डै ४२ लाख भ्यूज पाएको छ । त्यसैले अर्को साता यो गीतले थप स्थान सुधार गर्ने अपेक्षा गर्न सकिन्छ ।

पछिल्ला दुई तीन साता लगातार ट्रेण्डिङमा स्थान जमाइरहेको दीपक बज्रचार्यको मन मगन,गायिका दुर्गा खरेलको केही सुन्नुछ भने यो सातादेखि ट्रेण्डिङको होडबाजीबाट बाहिरिएको छ ।

Comments

comments