‘सिमली छायामा बसी, भरिया लामो सास फेरेको

उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको !’

०३४–३५ सालतिर जन गायक जीवन शर्मा काठमाडौंबाट घर जाँदै थिए । उनको साथमा गितार पनि थियो ।

पर्वत हुँदै घर जानुपर्ने बीचमा कार्कीनेटा पुग्ने ठाडो उकालो पर्छ । जीवन ज्यान बिसाउँदै उकालो चढ्दै थिए । चौतारीमा एकजना वृद्ध भेटिए । खोटाङतिरका हुनुपर्छ, राई रहेछन् । उनी पसलको भारी बोकेर नाक ठोक्किने उकालो चढ्दै थिए ।

खप्लक्क गालाभित्र पसेको । आँखा मुनीका डाँडी अस्वाभाविक उठेका । थाप्लोमाथि नाम्लोले बसालेको गहिरो खाडल । विद्रूप थियो उनको हविगत । जीवनलाई देख्नेबित्तिकै डाँको छाडेर पो रुन थाले ।

टोपीले मुख छोप्दै आँसु झार्दै, करिब सवा घण्टा उनले दुःखको पोयो फुकाए होला । उनको गरिबको पहाड कार्कीनेटाको उकालोभन्दा चर्को रहेछ । आँसुले के छिचोलिन्थ्यो !

पसिनाको कालीगण्डकी बगाउँदा पनि चुह्लो तताउन नसकेको विरह सुन्दा उनको दिमाग खज्मजियो । वृद्धसँग बिदा मागेर उकालो त चढे तर दिमाग प्रकम्पित भइरह्यो । अचम्म ! कार्कीनेटा पुग्दा त गीत पो तयार भइसकेछ !

‘सिमली छायामा बसी, भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको !’

यही गीत गाउँबस्ती सुनाउँदै हिँड्न थालेपछि जीवनको चर्चा चुलियो ।

यो गीतमा ग्राम्य लय छ । यसलाई उनी आँसुको संगीत भन्न रुचाउँछन् जहाँ पसिनाको सौन्दर्य,माटोको स्पन्दन,दुःख–पीडाका मुर्च्छना पाइन्छ ।

000000

‘सुकेर जाँदैन रोकेर रोकिँदैन
भारी खेप्ने खेतालाको यही हो जिन्दगानी
झरनाको चिसो पानी…!’

जीवन शर्माले ०३८–३९ सालतिर रचेका हुन् यो कालजायी जनताका गीत ।

तत्कालीन पञ्चायती शासकहरुमा यो गीतले भुइँचालो नै ल्याइदियो । गरिबको पसिना चुसेर राज्यसत्ताको तर मार्न पल्किएका र तिनका अनुचरका निधारमा चिटचिट पसिना आयो यो गीतको लोकप्रियतापछि । त्यसैले जीवन शर्मामाथि गीत गाउन प्रतिबन्ध लाग्यो । गायक न परे गाउन किन रोकिन्थे र ? लुकिछिपी भए पनि उनी गाउदै गए । नेपाली जनताले पनि आफ्नो गीत सम्झेर सुनिरहे । त्यसो त बन्दुकले कहाँ टालिन्छन् विचार !

Comments

comments