जनकपुरधाम । नेपाल भ्रमणका लागि आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा चार भाषाको अभिनन्दनपत्रले सम्मानित गरिने भएको छ ।

मोदीलाई जनकपुरमा गरिने अभिनन्दन नेपाली, मैथिली, हिन्दी र अंग्रेजी गरि चार वटा भाषामा तयार पारिएको छ । अभिनन्दन उपमहानगरपालिकाका मेयर लाल किशोर साहले गर्नेछन् ।

वैशाख २८ गते भारतबाट मोदी सोझै जनकपुर आउने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरको रंगभूमि मैदानमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको छ ।

२८ बैशाखमा जनकपुरको ऐतिहासिक रंगभूमि मैदान जनकपुरमा आयोजना गरिने नागरिक अभिनन्दन कार्यक्रममा मेयर साहले मैथिली भाषामा लेखिएको अभिनन्दन पढेर सुनाउने कार्यक्रम तय भएको छ ।

के छ अभिनन्दन पत्रमा ?

अभिनन्दनमा मोदीलाई श्रेष्ठतम मानव मुल्यमा आधारित राजनैतिक संस्कृतिको उद्घोषक तथा युग पुरुष भनिएको छ ।

मोदीलाई संघीय गणतन्त्रात्मक लोकतन्त्रको ‘लौह ध्वजाधारी’ भनिएको छ । त्यसै गरी मोदीलाई पौरवर्तय मनिषी परम्पराका मनस्वी साधक जस्ता बिशेषणका साथ लेखिएको अभिनन्दन पत्रमा मोदीको गुनगान गर्दै भनिएको छ, ‘अन्तर्राष्ट्रिय राजनीतिक मन्चमा तपाइंको अरूणोदयले युद्ध तथा आतंकको भयाभह स्थितिमा थर थर काम्नेहरूको प्राणको कण कणमा अजश्र आशा र उर्जाको किरण पल्लवित भएको छ,त्यो भारतीय उपमहाद्वीपको इतिहाश्को यो स्वर्णिम अध्याय हो ।’

प्राचीन ऋषि परम्पराको तपाईं गौरवपूर्ण बिभुति हुनुहुन्छ । तपाइंको रोम रोम बाट जसरी कुनै ऋचा अनवरत उत्सर्जित हुन्छ,मानब मङ्गलका लागि, हामीहरू तपाइंको प्रत्येक पाइलामा संगै छौं,भन्दै अभिनन्दन पत्रमा लेखिएको छ,‘नेपाल भारतबीच धार्मिक,सामाजिक तथा सांस्कृतिक सम्बन्ध छ, श्री रामको युगदेखि अहिलेसम्म हामीहरूको सम्बन्ध अक्षुण्ण छ, अहिलेसम्म संसारमा यस्तो कुनै हतियार बनेको छैन जसले हाम्रो भावनात्मक सम्बन्धको डोरीलाई काट्न सकोस् ।’

गणराज्यको स्थापनाको प्रारम्भ भएको यो भूमि संघीय शासनको अंग बनी छवटा दर्शन मध्ये चार वटा दर्शनको प्रादुर्भाव जैमिनी, कणाद,कपिल तथा गौतमद्वारा यहीं गरियो,त्यही बिदेहको थलोमा तपाइंलाई सम्मानित गर्ने अवसरले गौरबको अनुभूति भएको छ, मेयर लालकिशोर साहले गर्ने अभिनन्दनपत्रमा उल्लेख छ ।

जनकपुरका युवा साहित्यकार अशोक दत्तले लेखेको उक्त अभिनन्दनपत्र प्राध्यापक डा।भोगेन्द्र झा, महारुद्र झा, मेयर साह र उपमहानगरपालिकाका शाखा अधिकृत परमेश झाले अनुमोदन गरेका थिए ।

उक्त अभिनन्दन पत्र लिएर परमेश झा परराष्ट्र मन्त्रालय पुगेका छन् । त्यहाँ परराष्ट्र मन्त्रालयले सम्पादन गरे पछि अभिनन्दन फाइनल हुनेछ ।

यस अघि भारतका राष्ट्रपति प्रणब मुखर्जी आउँदा जनकपुरका बरिष्ठ साहित्यकार डा ।राजेन्द्र विमलले तयार गरेको अभिनन्दन पत्रलाई परराष्ट्रले उत्कृष्ट भन्दै अनुमोदन गरेको थियो ।

नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनालले उद्घोषण गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई स्वागत गर्ने मेयर साहले अभिनन्दन गर्ने, मोदी प्रमुख बक्ता रहने र अन्त्यमा मुख्यमन्त्री लालबाबु राउतले धन्यबाद ज्ञापन गर्ने कार्यक्रम तय गरिएको छ ।

Comments

comments