रसुवा । उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले शनिबार बिहानै रसुवागढी अन्तर्राष्ट्रिय नाकाको निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा चीनको केरुङबाट काठमाडौं रेलमार्ग जोड्नेबारे विस्तृत अध्ययन गर्न सम्झौता गर्ने तयारी भइरहेका बेला मन्त्री पुनले नाका अवलोकन गर्नुभएको हो ।

रसुवागढी नेपाल–चीनबीचको मुख्य अन्तर्राष्ट्रिय नाका हो, जहाँबाट चिनियाँ रेलमार्ग काठमाडौं जोड्ने तयारी भइरहेको छ।

रसुवागढी पुग्नुभएका मन्त्री पुनले नाकालाई थप व्यवस्थित बनाउँदै संरक्षण गरिने बताउनुभयो ।

पुनले रसुवागढी जलविद्युतत परियोजनाको समेत निरीक्षण गर्नुभयो । रसुवागढी १११ मेगावाट क्षमताको परियोजना हो। त्यस्तै रसुवास्थित जलविद्युत परियोजनाहरूको निरीक्षण गर्न मन्त्री पुन शुक्रबार नै रसुवा आउनुभएको हो । उहाँले शुक्रबार त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गर्नुभएको थियो ।

आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्यलाई तीब्रता दिन निर्देशन दिँदै तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गरिने बताउनुभयो ।

यसअघि निर्वाचन लगत्तै प्रधानमन्त्री बन्नुअघि नै रसुवागढी पुगेर ओलीले रेलमार्ग यही नाका भएर विस्तार गरिने बताउनुभएको थियो ।

प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणको क्रममा भारत जानुभएका ओली रक्सौल काठमाडौं रेलमार्ग विस्तार गर्ने सहमती गरेर फर्कनुभएको थियो । त्यसयता भारत र चीनको रेलमार्ग सञ्जालसँग नेपाललाई जोड्ने बहस भइरहेको छ।

Comments

comments