– डा. छोकी ( पी.एच.डि विद्यार्थी, अष्ट्रेलिया )

सन् १९९६ मा म पढ्नको लागि म्यान्मार गएँ । सबैले बधाई दिए र देशको लागि गर्व गर्ने व्यक्ति बन्ने शुभकामना दिए । त्यहाँ पढाइ सकेपछि म २००६ मा करियरकै सिलसिलामा श्रीलंका गएँ । श्रीलंका जाँदा पनि मलाई बधाई र शुभकामनाको ओइरो लाग्यो।

तर, म जब २०१५ मा अष्ट्रेलिया आउने निधो गरें, मानिसहरुले मलाई गर्वका साथ बधाई र शुभकामना दिएनन् । कसैले पनि मलाई यो भनेनन् की, ‘ राम्रो संग पढ्नु र देशको लागि गर्व गर्ने व्यक्ति बन्नु’ । किनकी अष्ट्रेलिया भन्ने बित्तिकै मानिसहरुको धारणा नै बेग्लै छ । उनीहरुमा यो विश्वास नै हुँदैन की, म अष्ट्रेलियाबाट आफ्नै देश भुटानमा फर्किनेछु । उनीहरु त यो सोंच्छन् कि, म सपनाको देश अष्ट्रेलिया आएपछि, यहाँको वातावरणले लोभिनेछु, पैसा कमाउन तिर लाग्नेछु , यहाँको पीआर र त्यसपछि नागरिकताको लागि प्रयास गर्नेछु, यतैको स्थानिय हुनेछु र मेरो देश भुटानले म माथि गरेको लगानी खेर जानेछ ।

मेरो देश भुटानका सबैजसो मानिसलाई लाग्छ कि, अष्ट्रेलियामा डलर फल्ने रुख छ । उनीहरु अष्ट्रेलिया भन्ने बित्तिकै डलर र सुविधासम्पन्न जीवनशैली सम्झिन्छन् । यो मान्यताले अष्ट्रेलियामा आफ्नो केही सपना बोकेर आएको मेरो देशको हरेक युवामा धेरै डलर कमाउनुपर्ने दबाब सिर्जना गरिरहेको छ । किनकी, उनीहरु सोंच्छन् कि, अष्ट्रेलिया आएको अर्को दिन देखि नै त्यो व्यक्तिले डलर टिप्न थाल्नेछ। त्यसैले परिवार, आफन्त, साथीभाइ सबैले ऊसंग त्यही अनुसारको माग र अपेक्षा राख्छन् । अष्ट्रेलियामा उसले झेलिरहेको मानसिक दबाब र संघर्षबारे अनभिज्ञ हुन्छन्, यदि बताउने नै हो भने पनि उनीहरुले त्यसलाई बुझ्न नै चाहँदैनन् । कामबाट थाकेको भन्ने हो भने, उनीहरु भन्छन् ,’ डलर टिप्दा थकाई लागिहाल्छ नि ! ‘ ।

हाम्रो समाजमा अष्ट्रेलिया आएको व्यक्तिले के सिक्यो, जीवनमा के-के गर्यो, पढाइ तथा करियरलाई कहाँ पुर्यायो भनेर हेरिंदैन । उसले कति कमायो, कति वर्षमा अष्ट्रेलियाको पी.आर पायो र अष्ट्रेलियाको नागरिकता कहिले पाउनेछ भन्ने आधारमा उसको उपलब्धि नापिन्छ । मलाई थाहा छ, मेरो पीएचडि पनि डलरकै आधारमा नापिनेछ। यहाँ हरेक सेन्ट कमाउनको लागि व्यक्तिले कति पसिना बगाएको छ, कति दबाब झेलेको छ भन्ने कसैलाई सरोकार हुँदैन ।

म पीएचडि सकेर आफ्नै देश भुटान फर्किन चाहन्छु। म स्वास्थ्य क्षेत्रको व्यक्ति, यहाँ धेरै अवसरहरु छन्, मेरो भविष्य यहाँ मैले सुनिश्चित गर्न सक्छु, तर म भने भुटान नै फर्किन चाहन्छु । मेरो यो योजना सुनेपछि म संगै काम गर्ने साथीले मलाई गिज्याउँदै भने ‘ के हो ? भुटानका प्रधानमन्त्रीले तिमीलाई स्वास्थ्य मन्त्रीको पद दिन्छु भनेर बोलाए कि के हो ?’ मेरो उत्तर पछि उनी चुप लागे। मैले भनेको थिएँ ,’ भुटानका प्रधानमन्त्रीले मलाई मन्त्री पद दिन बोलाएका छैनन् । किनकी मन्त्री पदको लागि मेरो खाँचो छैन। स्वास्थ्य मन्त्री हुनलाई त स्नातक पढे भइहाल्छ नि ! म क्लिनिकल माइक्रोबायालोजिस्ट बनेको छु र मेरो खाँचो अष्ट्रेलियामा भन्दा भुटानमा बढी छ’।

मलाई थाहा छ, भुटानमा मैले अष्ट्रेलियामा जति कमाउन सक्ने छैन, म ‘फ़्रसट्रेट’ पनि हुन सक्छु । तर, त्यसको लागि म पहिले नै मानसिक रुपमा तयार भएको छु । यहाँको सुविधा सम्पन्न जीवनशैली त्यहाँ मैले पाउनेछैन । तर आफ्नो देशमा म आफ्नो परिवारसंग बसेर, आफू हुर्केको माटोलाई केही योगदान गर्न सक्नेछु, देशले म माथि गरेको लगानीको प्रतिफल दिन सक्नेछु र आत्मसन्तुष्टि कमाउनेछु ।

यसरि भनिरहँदा मैले, देश छोडेर अष्ट्रेलियामा बस्ने मानिसहरुलाई निरुत्साहित गर्न चाहेको होइन। उनीहरु त्यही सपना बोकेर आए र अष्ट्रेलियाको नागरिकता लिएर यहाँ बस्दा रमाउनेछन् । मेरो भनाइको अर्थ यो हो कि, अष्ट्रेलियामा आउने हरेक व्यक्तिको सपना डलर टिप्ने र अष्ट्रेलियाको नागरिकता बोक्ने हुँदैन । त्यसैले यहाँको लागि पाइला चाल्ने हरेक व्यक्तिलाई डलर र नागरिकताको दबाब दिइनुहुँदैन । करियरको सपना बोकेर आएको, देश फर्किने योजना बोकेर आएको व्यक्ति पनि त्यस्ता आशाहरुले मानसिक दबाबको चरम स्थितिमा पुग्न सक्छ र आफ्नो योजनालाई परिवर्तन गर्न सक्छ। अझ, कति त, आफ्नो करियर योजना र अरुको डलर अपेक्षाको चेपुवामा पर्दा मानसिक बिरामी समेत बन्न सक्छन् । डलर सबैथोक होइन ? फेरी, जीवनभरको लागि पुग्ने सम्पत्ति भनेको कति हो ?

स्रोत : kuenselonline.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments