मेरी छोरी

कोमल स्पर्शमा तिम्रो म जब
मन्त्रमुग्ध भएको थिएँ,
तिमी म भित्र र म तिमी भित्र
जिन्दगीका रंग हरु कोर्दै थियौं

आमा हुनुको गर्व र
ममताको अनुभूतीले म परिपूर्ण थिएँ
मैले अंतर भित्र तिमीसँग
वाचा साटेको थिएँ,

म सदा छाता बनेर तिमीलाई
तिमी माथि खस्ने हर कठोर
शीतबाट जोगाउने छु
मेरो ममताको शीतलताले
तिमी माथी चर्कने
हर तापलाई शीतल बनाउने छु

तर मेरी छोरी,
म अक्सर सोच्ने गर्छु,
के मेरो छाताले निस्ठूर समयको
बलियो हुरीलाई छेक्न सक्ला?
मेरो ममताको शीतलताले
तिम्रो जीवनका सबै ज्वार भाटा
निभाउन सक्ला?

म कोर्छु चित्रहरु तिम्रो
सुनौलो भविष्यको, सुनौलो संसारको
म रंगहरु भर्छु, सुन्दर, रंगीबिरंगी
तिम्रा लागी
ता की,
तिमी ढुक्क हुन सक

उन्मुक्तताको आभास सँगै
गुञ्जियोस् तिम्रो हाँसो
यो ब्रम्हाण्ड भरी
फैलियोस सबल ऊर्जा बनेर
प्रेरणा बनोस् हर नयाँ पिढीका लागी
अनि हर सुन्दर, आत्माका लागी

सुवास छाओस तिम्रो जीवनमा
र तिमीसँगै जोडिएका हर चिजमा
अनि फैलियोस जाताततै
तर
म अक्सर डराउदै
सोच्ने गर्छु,
मेरी छोरी,
यहाँ म जस्ता कैयौं
आमाहरुको सपना समय सँगै
क्षितिजमा बिलिन भएका छन्

म घरी घरी यही सोच्ने गर्छु,
मेरी छोरी,
तिमी हिँड्ने बाटामा
असंख्य बाटाहरु जोडिएका छन्
हेर्दा सहज देखिने
ती मध्ये कति बाटाहरुले
तिमीलाई अप्ठेरो डाँडो
या कुनै गहिरो खोल्सामा लगेर
छोडी दिन पनि सक्छन्
तिमी बेलैमा फर्केर आउने
बाटो नहुन पनि सक्छ त्यहाँ

त्यति बेलाको लागी मेरी छोरी,
म तिमीलाई कुन त्यस्त्तो नेविगेटर दिउँ
जसले तिमीलाई तिम्रो जीवनको बाटो
सहज गरी गन्तव्यसम्म पुर्याउने छ

यहाँ छोटा साथहरु हुन सक्छन्
झुठा वाचाहरु हुन सक्छन्
कसरी तिमी कालो र सेतो
बीचको रंगभेदबाट आफूलाई
मुक्त गर्नेछ्यौ ?

यहाँ डर लाग्दा जंगलहरु छन्
बस्ती बाट अलि पर
जंगली जनावर हरु होलान्
हिंस्रक मानब भक्षी
जो तिमीलाई उम्कने मौकै नदिई
तिमी माथी झम्टन सक्छन्
कसरी तयार पारौंला म तिमीलाई
आत्मरक्ष्याको लागि, मेरी छोरी ?

कहिले काहीं म यही छटपटीमा
सिंगो रात बिताउने गर्छु
तिम्रो पैतालमा बिझ्ने हरेक काँढा लाई
म बिस्तारै निकालेर
मलम लगाई दिनेछु
तर मलाई थाहा छ मेरी छोरी,
म हुदिन सदा जब तिमी
मेरो ममताको घेरा
तोडेर आफ्नो कोकून बाट
बाहिर निस्कने छौ
तिमीले आफ्नो बिहानीको सूर्य
आफैं चम्काउनु पर्छ।

म भन्छु सुन मेरी छोरी,
म आज तिमीलाई
सुनाउदै छु मूल मंत्र
तिमी कोर्नु आफ्नो बाटो आफैं,
बनाउनु सुंदर गंतब्य आफ्नो,
लक्ष्य राख्नु गन्तव्य सम्म पुग्ने,
न डगमगाउनु लोभ्याउदा
बाटाहरु देखी,

समयको घामसँगै एक दिन
म आस्ताउने छु,
पर क्षितिजमा
जब मेरो घेरा बाट तिमी बहिरिने छौ
एउटा दीप लिएर जानु
जो बलिरहोस हरदम तिमी सँगै
जसले तिमीलाई सदा बाटो देखाई रहोस्

अँध्यारोमा र अप्ठेरोमा
चम्काउनु उज्यालो आफैं भित्र
छरिदिनु उज्यालो तिम्रो वरिपरी
मेरी छोरी,
चम्काउनु उज्यालो आफैं भित्र र
छरिदिनु उज्यालो जताततै वरिपरी।।

– गीता तिमिल्सिना

आमाको मुख हेर्ने दिनको अवसरमा अष्ट्रेलियाबाट नेपालमा रहनुभएकी आफ्नी आमालाई केक तथा उपहार पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

Comments

comments