काठमाडौं । भारतको तीनदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतसँगको सम्बन्ध सबैका लागि सुध्रिएकाे बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले भारतसँगको सम्बन्ध थप समधुर बनेको र अब सधैंका लागि सुध्रिएको बताए ।

‘नेपाल भारतको सम्बन्धमा अब तस्बिर आफैं बोल्छ,’ ओलीले भने, ‘अब भारतसँगको सम्बन्ध कसैले बिगारेन भने सुध्रिदै जान्छ । हामी भारतसँगको सम्बन्ध बिगार्ने पक्षमा छैनौं ।’

प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा महत्वपूर्ण र केही नयाँ सम्झौता भएको पनि बताए । सडक, रेल र जलमार्ग बिस्तार गर्ने विषयमा भारतीय पक्षसँग महत्वपूर्ण सहमति तथा समझदारी भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले भारतसँग मित्रवत् सम्बन्ध विकसित भएको पनि दावी । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले मित्रवत र एक–अर्काको अस्तित्व स्वीकार गर्ने खालको सम्बन्ध विकास गर्ने हाम्रो प्रयासलाई सकरात्मक रुपमा स्वीकार गर्नुभएको छ,’ ओलीले भने, ‘म जुन अभिमत बोकेर भ्रमणमा गएको थिए, त्यसलाई भारतले स्वागत गरेको छ ।’

सीमासम्बन्धी विवाद तथा अन्य विवादका विषयमा पनि आफूले भारतीय समकक्षीसँग गम्भीरतापूर्वक कुरा उठाएको ओलीले बताए ।

Comments

comments