अमेरिकी नेतृत्वमा इस्लामिक स्टेट बिद्रोही  बिरुद्ध  सिरिया केन्द्रित आक्रमण तीब्र पारिएको छ | अमेरिकी रक्षा केन्द्र  पेन्टागनका अनुसार लडाकु विमान, मानवरहित ड्रोन विमान तथा टोमाहक क्षेप्यास्त्रहरुले आइएसको मुख्य गढ रहेको सिरियाको  रक्का सहित कैयौँ स्थानमा प्रहार केन्द्रित गरिएको छ | संयुक्त राज्य अमेरिका र पाँच अरब देशहरुले एक साथ हवाइ आक्रमणहरु तीव्र पारेका हुन् ।

साउदी अरेबीया, संयुक्त अरब एमिरेट्स, जोर्डन र बहराइन इस्लामिक स्टेट बिद्रोही  बिरुद्धको यो आक्रमणमा युद्धक बिमानहरु सहित  सहभागी छन् | कतारले भने हाल सम्म आफ्ना लडाकु बिमान आक्रमणकै निम्ति पठाएको छैन | तर कतार पनि पूर्ण तयारीका साथ अमेरिकी नेतृत्वको यो कारवाहीमा सहभागी हुने पक्का पक्कि छ |

सिरियाका  मानवअधिकारवादी संस्था सिरियन अबजरभेटरी फर ह्युमन राइट्सका नुसार पहिलो दिनको कारवाहीमा  ७० विद्रोहीहरु मारिएको जनाएको छ | मंगलबार पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरुले दिएको जानकारी अनुसार सिरियाका  बिभिन्न स्थानमा रहेका आइएस बिद्रोहीका अखडा, तालिमकेन्द्र र सन्चार केन्द्रहरु पहिलो निशाना बनाइएको थियो | जसमा कम भन्दा कम मानवीय क्षति होस् भन्ने हेतुले उच्च सबेदंशिलता अपनाइएको दावी गरिएको छ | यद्यपि के कति मानवीय क्षति भएको भन्ने बारे अमेरिकी तथ्यांक सार्वजनिक गरिएको छैन | पत्रकार भेटघाटकै अवसरमा देखाइएको केहि भिडियोमा आइएस बिद्रोहीको अखडा भनिएका भवन हरुमा आक्रमण अघि र आक्रमण पछिका  तस्विरहरु देखाइएको थियो | पेन्टागनकै भनाई अनुसार उनीहरुले पहिलो चरणमा विद्रोहीको प्राबिधिक संयन्त्र निस्तेज पार्ने छन् |

आक्रमण सुरु भए पछि सिरियाका सहरहरुमा मानिसहरु बासस्थान छोडी भाग्न थालेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् | बीबीसी र सीएनएनले प्रकाशन प्रशारण गरिरहेका समाचारहरुमा जनाएअनुसार अर्को शक्ति राष्ट्र  ब्रिटेनले इस्लामिक स्टेट बिद्रोही बिरुद्धको कारवाहीमा समर्थन सहित युद्धक बिमान सहयोग गरेको छ | साथै आइएस सँग लडिरहेका कुर्दहरुलाई समेत आफ्ना हतियार उपलब्ध गराएको बताइएको  छ |

Comments