काठमाडौ‌ । अष्ट्रेलियन राजदूत पिटर बडले वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग बिहीबार शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भयो । भेटमा मन्त्री बस्नेतले अष्ट्रेलिया नेपालको असल मित्र भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध राजदूत बडको कार्यकालमाथप प्रगाढ र सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले अष्ट्रेलिया अध्ययन गर्न जाने नेपाली विद्यार्थीले भिसा प्रक्रियाकालागि भारतको नयाँ दिल्ली जानुपर्ने अवस्था अन्त्यका लागि नेपालबाटै भिसा उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । ‘मलाई जानकारी भएसम्म विश्वका विभिन्न मुलुकबाट अष्ट्रेलिया अध्ययनमा जानेमा चौथो बढी संख्या नेपाली विद्यार्थीको छ ।

नेपालबाट बाहिर जाने विद्यार्थीको पहिलो रोजाई अष्ट्रेलिया छ’, मन्त्री बस्नेतले भन्नुभयो, ‘भिसा आवेदनका लागि नयाँदिल्ली जानुपर्ने अवस्था अन्त्यका लागि पहल गरिदिनुस् ।’ यस्तै मन्त्री बस्नेतले दुई दशकदेखि अष्ट्रेलियाले नेपालको सामुदायिक वनको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा थप सहकार्यको प्रस्ताव राख्नुभयो ।

सरकारले वनलाई समृद्धिको आधारका रुपमा लिएर संरक्षण र उपयोगको सन्तुलनका माध्यम द्वारा कुल ग्राहस्थ उत्पादनमा उल्लेख्य योगदान दिने गरी नीतिनिर्माण गर्न लागेको जनाउनुभयो ।

Comments