काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणका क्रममा देशलाई अप्ठ्यारो पर्ने कुनै काम नहुने बताउनुभएको छ ।

‘देशलाई अप्ठ्यारो पर्ने, देशको शिर निहुरिने, देशले लज्जाबोध गर्नुपर्ने र देशलाई नोक्सान गर्ने कुनै काम हुँदैन, गरिने छैन,’ प्रतिनिधि सभाको मंगलवार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।

देशलाई फाइदा पुग्ने र मुलुकको शिर उच्च पार्ने काम आफूले गर्ने उहाँको जिकिर छ । प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धबाट लाभको प्रतिफल लिन आफू भारत भ्रमणमा जान लागेकोसमेत प्रष्ट पार्नुभयो।

छिमेकसँगको सम्बन्ध राष्ट्रिय हितको सरक्षण गर्दै समानता, पारस्पिरक लाभ र पारस्परिक सम्मानका आधारमा हुने उहाँको छ । आफ्नो भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो ।

‘दुवै छिमेकीसंग सम्बन्ध राम्रो छ, यो सम्बन्ध अझ सुदृढ बन्दै जानेछ,’ ओलीले भन्नुभयो, ‘देशलाई अपमानबोध हुने खालका कुनै काम गर्दैनौँ ।’ उहाँले छिमेकीसंगको सम्बन्ध मैत्रीपूर्ण हुने र विदेश नीतिको प्रस्तानबिन्दु मित्रतापूर्ण सम्बन्ध हुने स्पष्ट पार्नुभयो ।

‘भारतसंग कुरा गर्दा भारतका जायज चिन्ता र सरोकारमा पनि ध्यान दिन्छौँ,’ उहाँले भन्नुभयो । भारतले पुर्ननिर्माणका लागि दिने भनेको सहयोग बारे पनि आफूले स्मरण गराउने प्रधानमन्त्री ओलीले बताउनुभयो।

Comments