-निलम ढुङ्गाना 
ईतिहासदेखि वर्तमान समयसम्म पूर्वीय सभ्यताको बिकाश क्रम हेर्दा प्राय: सबै समुदायका महिलाहरुले जन्मने बित्तिकै बंशजको आधारमा प्राप्त गरेको थर र जन्मदाताको पहिचानलाई एक चिम्टी सिन्दुरका लागि मात्र परिवर्तन गरिरहे । बंशजले प्रदान गरेको पहिचान बिहे गरेर गएपछि श्रीमानको पहिचानमा बिलिन हुदा पनि त्यो नया नामसंग सिंगो आधा आकाश ढाकेको समुदाय हासी खुसी नै बाचेको देख्न पाइन्छ । तर उदेक लाग्दो कुरा के भने आफुले जन्म दिएको आधारमा आफुले हुर्काएको आधारमा र आफुले लालनपालन गरेको आधारमा अझ भनुन आफुले नौ महिनासम्म गर्भाधारण गरेको आधारमा मैले मेरी छोरीको नामको पछाडि मेरै थर राख्ने आशय ब्यक्त गर्दा आलोचनाको त्यत्ति बिधि बर्षा होला जस्तो लागेको थिएन ।
सामाजिक संजाल प्रयोगकर्ताको बिचारले सिंगो समाजको यथार्थता चित्रण गरिरहेको छ यदि भने अझैसम्म पनि हाम्रो समाज कस्तो पुरुषप्रधान सोचबाट ग्रसित छ भनेर एक पटक सोच्न बाध्य चाहि भईदो रहेछ । त्यस्ता खाले बिरोधाभाष देख्दा म अचम्मित त छैन किनभने हामी त्यही पृतृसत्तात्मक सोच भएको समाजमा हुर्किएका हौं  । त्यै देखेका छौ, त्यही सिकेका छौ अनि त्यही चलनलाई सहि पनि ठानेका छौं। यदि पहिलेकै प्रथा हो भनेर सहि मान्ने हो भने र सति प्रथा पनि सहि नै थियो होला, किन त्याग्यौँ त हामीले ?
हर हमेसा एउटी महिला आफ्नो सन्तानको नामको पछाडि आफ्नो लोग्नेको थर जोदिदा आफ्ना सन्तानको नाममा आफ्नी श्रीमतीको थर जोदिदा खुशी हुन सक्दैन ? एकजना छुट्टै प्राणको अस्तित्व भएकी महिला जसलाई राज्यले बेग्लै नागरिकता प्रदान गरेर छुट्टै अस्तित्व प्रदान गरेको छ उसले आफ्नो सन्ततिलाई आफ्नो थर दिन चाहानु कुन अर्थमा गलत हुन जान्छ ? बाबुको थर योग्य र आमाको थर अयोग्य भनेर कुन धर्म शास्त्रमा लेखिएको छ र आखिर ?

पुरुषहरु यस्ता मामलालाई सजिलोसंग पचाउन सक्दैनन् किनकी उनीहरुको अभिमान र पुरुषार्थमा यसले चोट पुर्याउछ । पुरुष हुनुको दम्भमाथि प्रहार हुन जान्छ त्यसैले यो संसारको कुनै पुरुष होला सायद जो आफ्नो सन्तानको नामको पछाडि श्रीमतीको थर जोडिएको हेरेर खुशी हुन सकोस । अस्तित्व बराबरीको कुरा गर्छौं हामी तर कहिल्यै कुनै पुरुषले घोषणा गरेको छ दुइ सन्तानमा एक सन्तानको थर बाबुको र एक सन्तानको थर आमाको राखौं भनेर ? अहँ त्यो हुन सक्दैन किनकी पुरुषबादी संकीर्ण सोचले त्यो हुन दिदैन र जतिसुकै ठूलो महिला अधिकारवादी पुरुष पनि यो मोडमा आइपुगेपछि नराम्रोसंग चिप्लिन पुग्छ ।

रह्यो मेरो प्रसङ्ग बच्चाको सम्पुर्ण जिम्मेवारी आफुले लिएर श्रीमानसंग नचाहादा नचाहिदै अलग्गिएकी एक सानी बच्चिकी आमाको । आफ्नो बच्चालाई आफ्नै नाम दिने सोचलाई गलत सोच्ने मानसिकतालाई मेरो प्रश्न के छ भने– के विर्यदान गर्नु या कसैलाई गर्भिणी तुल्याउनु मात्र बाबु बन्नु हो ? एक पूर्ण बाबु जसले आफ्नो सन्तानको पछाडी आफ्नो थर जोड्न चाहान्छ भने उसको बच्चा जन्मेपछिका हरेक जिम्मेवारी पनि बराबर निर्वाह गर्नु पर्दैन ? जे गरे पनि, जसो गरे पनि, जति बेपर्वाह

भए पनि या जति गैह्र जिम्मेवार भए पनि, सम्पूर्ण रुपमा बाबु हुने एकछत्र अधिकार भगवानले प्रदान गरेका हुन् र ? त्यो फेर्न नमिल्ने अकाट्य हो भने मेरो भन्नु केहि छैन तर यदि त्यसो होइन भने बच्चा जन्माउन हुर्काउन र खुट्टा टेकाउन जसले रगत पसिना बगाउछ थर उसैको लेखिनु पर्दछ ।

अब म एउटा कुराको जवाफ खोजिरहेछु, अहिलेको यो अवस्थामा मैले आफ्नो बच्चालाई आफ्नो नाम दिन खोज्नु गलत हो र ? मलाई असाध्य दु:ख त झन् केही महिला मित्रको कमेन्ट पढ्दा लाग्यो। सोचिरहेछु महिलाहरु किन आफ्नो प्राणको बेग्लै अस्तित्व छ र आफुले छुट्टै स्वास फेरिरहेछु भन्ने बुझ्दैनन् र जतिसुकै अन्याय परे पनि सहेर बस्नुपर्ने सल्लाह दिन्छन ? आफ्नै आस्तित्वलाई आफै स्विकार्न नसकेको जस्तो आभाष हुने गरी सामाजिक संजालमा प्रस्तुत हुनु हुने महिला मित्रहरुको यस्तै सोचले आज सम्म पनि घरमा एउटि छोरी जन्मिएर अर्कि सन्तान पनि छोरी जन्मदा नाक खुम्चिन्छ हाम्रो समाजमा । कति आमाहरुले गर्भमा छोरी भएकै कारण भ्रुणहत्या गरेर छोरा जन्माउन प्रयास गर्नुहुन्छ र आफ्नै स्वास्थ्य माथि खेलवाड गर्नुहुन्छ ।

तेस्रो या चौथो सन्तान त छोरा होला कि ! भन्ने आशाले छोरी पेटमा रहेका हुदा गर्भमै कैंची चलाउन राजि हुने दिदीबहिनीहरुले पुरुषले गरेको अन्याय पनि परमेश्वरले गरेको कृपा सरह मान्नुहुन्छ । कति महिलाहरु दिनहु लात्तिको गोदाई पनि खानुहुन्छ र त्यहि लात्ती धोएर जल पनि खानुहुन्छ । देश जतिसुकै भौतिक बिकाशको उचाईमा पुगोस या बराबरी अधिकारलाइ व्याख्या गर्ने जतिसुकै कानुन बनुन र महिलाहरुलाई जतिसुकै महत्वपुर्ण अवसरहरु दिएता पनि महिलाहरुको बिबेक परिवर्तन नभएसम्म, बराबरीको चेतानाको बिकाश आत्मदेखि नभएसम्म र महिलाहरुले वंश धान्न छोरो जन्माउने अभिलाषा पालि रहेसम्म यो समाजमा नारी-पुरुष बराबरी भएको देख्न पाइने छैन ।

बंश बढाउने र पिण्ड चढाउने खेलले गर्दा हामी सधैं हारेका छौ । म मेरो छोरीलाई मेरो नाम उसको बाबुसंग छुट्नु परेको कारणले मात्र दिन लागेकी होइन, म मेरो आमाको बुवाको बंशजको नाता मेरी छोरीमा सार्न चाहान्छु । त्यो अधिकार छ कि छैन ? कोख मेरो, काख मेरो, खुन मेरो, दूध मेरो, दुख मेरो, सुख पनि मेरो र अबका दिनबाट सम्पुर्ण जिम्मेवारी मेरो, ओत लाग्ने छत मेरो, घर मेरो तर जन्मदर्ता गर्ने बेलामा थर किन अर्कैको ?

(एक खुट्टाले नाचेर लोकप्रियता हासिल गरेकी निलम ढुङ्गाना आफ्नो निजी ब्लगमा नियमित लेख्छिन् । प्रस्तुत लेख उनको ब्लगबाट साभार गरिएको हो । -सम्पादक )     

Comments

comments