अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले युगान्डामा गर्ने निश्चित गरेको वल्र्ड क्रिकेट लिग डिभिजन थ्री मलेसियामा सार्ने निर्णय गरेको छ ।

आइसीसीको आजको निर्णयअनुसार अब सो प्रतियोगिता २३ देखि ३० अक्टोबरसम्म क्वालालम्पुरमा हुनेछ । आइसीसीले सुरक्षाको कारण देखाउँदै युगान्डाबाट डिभिजन ३ लाई मलेसिया सार्ने निर्णय गरेको हो । आइसीसीको निर्णयले पहिलो पटक विश्व लिग आयोजना गर्ने तयारीमा रहेको युगान्डालाई धक्का लागेको छ । यसअघि यो प्रतियोगिता नेपालमा हुने लगभग पक्का जस्तै भइसकेको थियो । क्यानको कार्यशैलीदेखि आइसिसी असन्तुष्ट हुँदा नेपालले डिभिजन ३ प्रतियोगिता आयोजना गर्ने अवसर गुमाएको थियो ।

डिभिजन ३ मा पछिल्लो संस्करणको विजेता नेपालसहित आयोजक युगान्डा, बर्मुडा, अमेरिका, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । डिभिजन ३ को शीर्ष दुई टोलीले २०१५ को सुरुआतमा हुने डिभिजन २ मा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

Comments