काठमाडौं । कीर्तिपुरबाट दोस्रोपटक पनि गोर्खाली असफल भएर फर्केपछि कान्तिपुरका राजा जयप्रकाश मल्लले गुमिरहेको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र दूधकोशीसम्मको पहाड प्रदेशसमेत वापस लिने आँट गरी नालदुमगढी फिर्ता लिनाका निमित्त नगरकोटी सेनापति बाघसिंहको नेतृत्वमा नगरकोटी, खस र अरूहरू पनि सङ्गठित गरिएको गहकिलो सैन्य दल पठाए । यसले नालदुमगढीमा घेरा दिएर त्यस गढीको रक्षाको निमित्त बनेका तीन ठानामध्ये दुई ठानामा अधिकार गरी तेस्रो ठानासमेत घेरेको समाचार पाएर श्री ५ पृथ्वीनारायण शाहले काजी वंशराज पाँडेका परामर्शअनुसार अघि चिकुटी मास्केलाई हराई त्यो गढी फिर्ता गर्न समर्थ भएका काजी तुलाराम पाँडेका नेतृत्वमा प्रभु मल्ल र हरिवंश उपाध्यायका साथ छरितो र बलियो सैनिक दल दहचोकबाट रवाना गराए ।

यो सैनिक दल सन्ध्याकालमा दहचोकबाट हिँडेर सिम्भुलाई बायाँ, ठमेललाई दाहिने पारेर साँखु हुँदै आधारात ढल्केपछि नालदुमका नजिकमा पुग्दा बाघसिंहले यसतर्फ आएको सैनिक दल गोर्खालीको हो भन्ने कल्पना पनि गर्न नसकी कान्तिपुरबाट सहायता आएको सैनिक दल सम्झे । जब यस सैनिक दलले गोर्खाली भेरी बजाएथ्यो तब गढीभित्र घेरिएका गोर्खालीले सुने र द्वार खोली दुवैतिरबाट आक्रमण हुन लाग्दा नगरकोटीहरूमा आँखा खुले ।

दुईतिरका चेपुवामा परेर बाघसिंह मारिई कान्तिपुरका सैनिकहरू प्रशस्त मात्रामा हताहत भएर भागे, थोरै गोर्खाली सैनिक पनि परे ९अक्टोबरको मध्य १७६४ आ।० । यस पराजयपछि कान्तिपुरको ठकुराईको मस्ती सदाकालको निमित्त गल्यो । नालदुमको यो तेस्रोपटकको विजय अघिल्ला दुईपटकको विजयभन्दा ज्यादै गहकिलो हुनाले सेनापतिहरूलाई पुरस्कार दिनका निमित्त श्री ५ पृथ्वीनारायण शाहले काजी वंशराज पाँडेका साथ नुवाकोटमा गएर काजी तुलाराम पाँडे आदि सेनापतिहरूलाई पनि त्यहीँ बोलाई सेनापति र सैनिक दललाई समेत प्रशस्त शिरोपाउ दिए ।

कीर्तिपुरको दोस्रो लडाइँमा हार भएपछि कारण बुझ्दा श्री ५ पृथ्वीनारायण शाहले आफ्नै भाइ काजी शूरप्रताप शाहको गल्ती देखेर यिनका कुरा नसुन्ने गरेका हुनाले यिनीबिभिन्डिएर कस्केली राजा सिद्धिनारायण शाहको आश्रय लिन पुगे । आफ्ना भाइलाई शत्रुका आश्रयमा रहन दिन उचित नदेखेर पुरोहित शक्तिबल्लभ अज्र्याललाई पठाई फकाइफुल्याई नुवाकोटमा ल्याएर कीर्तिपुरमा तेस्रो आक्रमण गर्न श्री ५ पृथ्वीनारायण शाह उतारू भए । यस विषयमा काजी वंशराज पाँडेसँग परामर्श हुँदा यिनले श्री ५ पृथ्वीनारायण शाहको हतपत्याइँलाई बार हालेर आगामी शरदऋतुको समय आक्रमणका निमित्त अनुकूल देखाई श्री ५ पृथ्वीनारायण शाहको चित्त बुझाए ।

कीर्तिपुरमा आक्रमण गर्नुभन्दा पहिले कान्तिपुर ठकुराईका पश्चिमोत्तर सीमानाका काहुलेभञ्ज्याङका कोटबाट कान्तिपुर ठकुराईमा झरी यस ठकुराईको उत्तरभागमा रहेको धर्मथलीदेखि साँखुसम्मका बस्तीहरूमा अधिकार गर्ने श्री ५ पृथ्वीनारायण शाहले योजना बनाए । काहुलेभञ्ज्याङबाट झरेपछि लिच्छविकालदेखि आवाद भएर रहेको बस्ती धर्मथली गाउँ थियो, त्यो दखल गर्न कठिन थिएन । त्यसका बगलैमा पश्चिमपट्टि बँड्का क्षत्रीहरूको बस्ती भएको मुडिखु गाउँ थियो र त्यहाँका मुख्य भएर रहेका हरि खड्कालाई आफ्ना पक्षमा मिलाउन श्री ५ पृथ्वीनारायण शाहले प्रयत्न गरे (जनवरी, १७६५० ।)

त्यो प्रयत्न विफल हुँदा अप्रिलको आरम्भमा श्रीकृष्ण पाठकको नेतृत्वमा गएको गोर्खाली सैनिक दलले मुडिखुठानामा आक्रमण ग¥यो । गोर्खालीद्वारा भएको यस आक्रमणलाई खड्काहरूको नेतृत्वमा मुडिखुठानाको रक्षाका लागि रहेको सैनिक दलले खप्न सकेन र सजिलैसित पराजित भयो । बड्काहरूका नेता हरि बँड्का र निजका छोरासमेत २०–२५ जनाले आत्मसमर्पण गरे र यिनका साथ १६४ जना मुडिखुले पक्रिएर नुवाकोटमा लगी कैद गरिए । यसै समयमा ललितपुरमा बन्दी भएर रहेका दलमर्दन शाह पनि उम्केर दहचोकमा रहेका गोर्खाली छाउनीमा उत्री नुवाकोटमा श्री ५ पृथ्वीनारायण शाहका सेवामा हाजिर हुन पुगे ।

(बाबुराम आचार्यकृत ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’बाट)

Comments

comments