काठमाडौँ । काठमाडौंका सडकमा बिहीबार अपराह्न एक्कासी गतिरोध आयो । कुनै सडक पूरै खाली गराइए । कुनैमा भने सवारीसाधनको लामो लाइन बन्यो । संघीय संसद्लाई सम्बोधन गर्न शीतलनिवासबाट निक्लिएको राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीले सडक आवागमनकर्तालाई जहाँको त्यहीँ रोकेपछि त्यसको प्रतिक्रिया सामाजिक सञ्जालहरूमा तत्काल देखिन थाल्यो ।

यसमा राजालाई सम्झाउने गरी सवारी चलाएको भन्दै राष्ट्रपतिको आलोचना भइरहेको थियो । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

धेरैले राष्ट्रपति बग्गीसहित सवारी भएको तस्बिरलाई ट्वीटरमा पोस्ट गर्दै ह्यासट्यागमा ‘मौसुफको सवारी’ भनेर लेखे । प्रदीप पन्तले सूत्रात्मक शैलीमा ‘तन्त्र गए तुजुक गएन’ भनेर स्टाटस अपडेट गरे । ‘राष्ट्रपतिज्यूको आजको सवारी र यसले निम्त्याएको सवारी जाम हेर्दा, भोग्दा फेरि आफूलाई प्रजाको दर्जामा नै भएको महसुस भयो’ भनेर उपेन्द्र श्रेष्ठले ट्वीट गरे ।
यी केही उदाहरण मात्रै हुन् । सामाजिक सञ्जालमा टिप्पणी नगर्नेहरूले पनि आपसी कुराकानीमा राष्ट्रपतिको शैलीको आलोचना गरेको सुनिन्थ्यो । जनताकै माझबाट सत्तामा पुगेकाहरूबाट जनतालाई नै सास्ती हुने कामको अपेक्षा नगरिएकैले सायद राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीजस्ता ‘विशिष्टको सवारी’ मा अस्तव्यस्तसँग बाटामा रोकिनुपर्दा सर्वसाधारणबाट कटु आलोचना हुने गर्छ ।
व्यवस्था बदलिँदा पनि सत्तामा पुग्नेको व्यवहार भने आखिर सधैं किन उस्तै हुन्छ ? ‘किनभने भित्रबाट हरेक मान्छे शक्तिकै पुजारी हुन्छ अनि शक्तिको स्वभाव अरूमाथि शासन गर्नेखालकै हुन्छ,’ मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘फलेको वृक्षको हाँगो झुक्ने भनेको लेखनाथको कवितामा मात्रै हो, व्यवहारमा त सत्तामा पुगेकाहरूमा नम्र हुने होइन, गजक्क परेर आफूलाई आम मानिसबाट टाढा राख्ने र पृथक् देखाउने बानी हुन्छ । सारालाई रोकाएर खाली बाटामा शासकहरू आफू मात्रै हिँड्नुको अर्थ नै यही हो ।’ अरू बेला सहज हुने, हात मिलाउने र कुशलमंगल सोध्ने नेताहरू मन्त्री भएपछि नचिनेजस्तो गर्ने प्रवृत्ति मौका पर्दा आफूलाई अरूभन्दा विशिष्ट देखाउने मानवीय चाहनाकै अभिव्यक्ति भएको ढकालले बताए ।
सत्तासीनहरूलाई सामान्य मानिसको दु:ख गौण लाग्ने हुनाले विशिष्टहरू अरूलाई पीडा दिने गरी व्यवहार गर्ने गरेको समाजशास्त्री चैतन्य मिश्रको बुझाइ छ । ‘हो, संसद्मा सम्बोधन गर्न राष्ट्रपति जानु संवैधानिक कर्तव्य हो तर यो काम बिदाको दिन वा सवारी चाप कम भएका बेला पनि त गर्न सकिन्थ्यो,’ मिश्र भन्छन्, ‘अथवा तामझाम कम पनि त गर्न सकिन्थ्यो । तर त्यसो भएन, किनभने सकेसम्मको रवाफ प्रदर्शन गर्ने सत्तासीनहरूको चरित्र हुन्छ अनि पाएको सास्तीलाई सकेसम्म बढाएर त्यसको आलोचना चाहिनेभन्दा बढी नै गर्ने सामान्यजनको बानी हुन्छ ।’ मिश्रको विचारमा बाटो खाली पारेर रवाफ देखाउने र बाटामा कुर्नुपर्दा रिस देखाउने दुवै पक्षमा ‘अति’ छ ।
पुरानै ढर्रामा राष्ट्रपति चल्नु र अझ बग्गीसहितको सवारी निकालेर सर्वसाधारणलाई सास्ती दिनु शासकहरूमा बदलिन नसकेको चिन्तन मुख्य कारण भएको जिकिर गर्छन् अर्का मानवशास्त्री डम्बर चेम्जोङ । ‘भौतिक परिवर्तनमा समाज अगाडि हुन्छ तर मानिस त्यो परिवर्तनअनुसार आफ्ना आनीबानी बदल्न सक्दैन । यस्तो अवस्थालाई मानवशास्त्रले सांस्कृतिक पछौटेपन भनेर व्याख्या गर्छ,’ चेम्जोङले भने, ‘मोटरको इन्जिन र पाटपुर्जा ठीकठाक राख्नुपर्नेमा सवारी साधनमा भोग दिने भनेर कुखुरा वा बोका चढाउनु सांस्कृतिक पछौटेपनको उदाहरण हो । मोटरगाडी नभएका बेला राजा(महाराजाहरू बग्गीमा सवारी चलाउँथे । अचेल मोटर, अझ हेलिकप्टरको युग छ तर हाम्रा शासकहरू परम्परा थाम्ने नाममा उही बग्गीले घेरिएर मोटर चढ्छन् । यो पनि सांस्कृतिक पछौटेपन नै हो ।’
गणतन्त्र आइसक्दा पनि सामन्ती राजतन्त्रमा झैं हाम्रा सत्तासीनहरूले सडकमा निक्लने प्रवृत्ति बदल्न नसक्नु परिवर्तन पूर्ण रूपमा स्थापित नभएको संकेत पनि हो भन्छन् ढकाल । ‘हिजो राजाको सवारी जसले व्यवस्थापन गर्थ्यो, आज राष्ट्रपतिको सवारी पनि उही संयन्त्रले चलाउँछ,’ उनी भन्छन्, ‘त्यसैले पनि उही ढर्रा र ढाँचामा राष्ट्रपतिको सवारी चलेको हो तर यसमा राष्ट्रपतिको पदमा बस्ने व्यक्ति स्वयंले निर्देशन दिएर यस्तो काम नलाग्ने चलन रोक्न चाहने हो भने सर्वसाधारण पीडित हुनुपर्दैनथ्यो ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments