काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवामाथि प्रहार गरेर संगठनलाई कमजोर बनाउने काम बन्द गर्न आग्रह गरेका छन्। निर्वाचन समीक्षाका लागि शुक्रबारदेखि जारी केन्द्रीय समितिको मंगलबारको बैठकमा बोल्दै सदस्यहरुले सस्तो लोकप्रियतामा नेतृत्वलाई गाली गरेर पार्टी कमजोर बनाउने काम भइरहेको आरोप लगाएका हुन्। अाजकाे नागरिक दैनिकमा समाचार छापिएकाे छ।

नेता रामचन्द्र पौडेल पक्षले नेतृत्वकै कारण निर्वाचनमा पार्टी पराजित भएको आरोप लगाउँदै त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्ने धारणा राख्दै आएका बेला देउवा निकट निकट नेताहरु उनको बचाउमा उत्रिएका छन् ।

‘निर्णय प्रक्रियामा सहभागी हुने, भाग पनि खानेपछि भएपछि म सहभागी छैन भन्ने मिल्दैन,’ केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले सभापतिको बचाउ गर्दै भने, ‘सरकार, टिकटसहित सबै कुरामा भाग लिएपछि निर्वाचन पराजयको पनि जस र अपजस दुवै लिनुपर्छ। सभापतिलाई मात्र दोष लगाएर भाग्न मिल्दैन।’

‘सभापतिमाथिको प्रहार भनेको कांग्रेस माथिकै प्रहारको हो,’ केन्द्रीय सदस्य पार्वता डीसी चौधरीले भनिन, ‘महाधिवेशनबाट आएको नेतृत्वलाई अर्को महाधिवेशनले मात्र हटाउन सक्छ। नेतृत्वमाथि प्रहार गरेर संस्थालाई कमजोर बनाउने काम बन्द गरौ।’

केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीभित्रका कुरा बाहिर ल्याएर संगठनलाई कमजोर बनाउने काम भएको गुनासो गरे। पपुलर मत अहिले पनि कांग्रेसले नै बढी ल्याएको उनको तर्क छ।

अर्का केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पार्टी र लोकतान्त्रिक पद्धतिमाथि आइपरेको चुनौतिको सामना गर्न पार्टीभित्र बृहत एकता आवश्यक रहेको औल्याए। निर्वाचन पराजयको कारणमा मात्र नअल्झिन उनले नेतृत्वलाई आग्रह गरे।

बैठकमा केन्द्रीय सदस्य धनराज गुरुङ र बद्री पाण्डले पार्टी अहिलेको अवस्थामा आउनुको प्रारम्भ एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध तत्कालीन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइरालालाई प्रतिष्पर्धामा उतार्नुबाट भएको आरोप लगाएका थिए।

तर नेता मीनेन्द्र रिजालले प्रतिवाद गरे। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा यस दुनियामै नभएको नेतालाई निर्वाचन पराजयको कारण देखाउनु गलत भएको तर्क गर्दै उनले टिकट आफूले बाँड्ने, राप्रपा, संघीय समाजवादी, राष्ट्रिय जनता पार्टी नेपालसँग वार्ता सुशील कोइरालाले गरेका हुन ? भनी प्रश्न गरेका थिए। ‘त्यसो भए सुशील कोइरालाका कारण पार्टी हा-यो भन्ने प्रस्ताव पारित गरौं। मलाई किन यसो गरेको भन्न सुशील कोइराला आउनु हुन्न,’ रिजाललाई उद्धृत गर्दै सहभागी एक सदस्यले भने।

२०१५सालको निर्वाचन देखि पछिल्लो चुनावसम्म कांग्रेसको जनमत उस्तै रहेको तथ्याङ्क रिजालले पेस गरे। निर्वाचनमा अनपेक्षित पराजयको प्रमुख कारण नेकपा माओवादीसँगको गठबन्धन टुट्नु र एमाले माओेवादी जुट्नु रहेको उनको निष्कर्ष छ।

रामशरण महतले मुलुकको समग्र अर्थतन्त्र अहिले सम्म कांग्रेसले लिएकै आर्थिक नीतिका कारण चलेपनि जनतालाई बुझाउन असफल भएको सुनाए। २५ वर्षमा २५ नै सरकार निर्माण हुँदा मुलुक तीब्र अार्थिक र पूर्वाधारमा विकास गरेको जनाउँदै महतले तथ्याङ्क पेस गरेका थिए।

निर्वाचनमा टिकट नपाएकोमा सभापतिसँग आफ्नो कुनै गुनासो नभएको बताउँदै केन्द्रीय सदस्य धनराज गुरुङले नेता रामचन्द्र पौडेलसँग रोष प्रकट गरे। ‘४०प्रतिशतको मालिक रामचन्द्र पौडेलको पोकोमा मेरो पनि टिकट लिएर जानु भएको थियो। उहाँले त्यो पोकोबाट मेरो टिकट बीचमै कहाँ हराइदिनु भयो?’ उनले भने। नेतृत्वको गलत कार्यशैली, नेतृत्वको रवैया र टिकट वितरणमा देखिएको त्रुटिले पार्टी पराजित भएको उनको तर्क छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments