-मुरारी लम्साल

म सन् १९९६ को अन्त्यमा अष्ट्रेलिया आएको हूँ । त्यतिबेला अष्ट्रेलियाको लागि नै भनेर नेपाली दुतावास थिएन । जापान स्थित नेपाली राजदुतावासले अष्ट्रेलीयालाई हेर्ने गर्दथ्यो । त्यो अवधिमा दुतावाससंगको केही अनुभव भए पनि भन्नु छैन । जब अष्ट्रेलियामा प्रत्यक्ष आफ्नै देशको राजदुतावास शुरु भयो अहिले सम्म भने मेरा धेरै नै तीता मिठा अनुभवहरु छन् ।

अष्ट्रेलियामा नेपाली दुतावास स्थापन भएदेखी दुई जना राजदुतको टिमले आफ्नो कार्यकाल सकेर गईसक्नुभएको छ र तेस्रो राजदुतको टिम अहिले कार्यरत छ । म व्यक्तिगत रुपमा वहाँहरुसंग सम्बन्धित छैन र म कोही आलोचक वा विश्लेषक पनि होइन। तर अष्ट्रेलियामा बस्ने सामान्य नेपालीको हैसियतले दुतावाससंग गाँसिएका तीता मिठा अनुभवहरु बाँड्न चाहें ।

भर्खरै नयाँ स्थापना भएको र अन्य विविध कारणले पनि होला, पूर्व राजदुतहरुको कार्यकालमा दुतावासको कस्टमर सर्भिस धेरै नै अप्रभावकारी देखियो । दुतावासको फोन कहिल्यै उठ्दैन थियो । कहिले त फोन सम्पर्कबाट सहयोग लिनको लागि हप्तौ प्रयास गर्दा पनि फोन उठ्दैनथ्यो । पासपोर्ट र अन्य कामको लागि फोन नउठेकै कारणले क्यानबेरा सम्म आउन जान ६ घण्टा ड्राइभ गर्न परेका तिता अनुभवहरु छन् । त्यो मेरो मात्र नभएर त्यस समयमा पनि अष्ट्रेलियामा बसेका जोकोहीको अनुभव हो।

यहाँ बस्ने नेपालीहरुका विभिन्न सामुदायिक संगठनहरुले राजदुतावासमा गएर यस सम्बन्धि असन्तुष्टी नपोखेका होइनन् तर पनि उही नेपाली कार्यशैली कहिल्यै परिवर्तन भएन। आफू टाढादेखि कामको लागि हतार हतार गरेर गयो र लाइनमा बस्यो तर कस्टमर सर्भिसमा बस्ने स्टाफ घन्टौंसम्म नेपालमा परिवारसंग कुरा गरेर बसिदिन्थे। केही कुराको जानकारी लिन खोज्दा हचुवाको भरमा बोलिदिन्थे र सहयोग हुनेभन्दा झन् बढी दु:ख हुन्थ्यो । बारम्बार, आफ्ना नजीकका भाइ बहिनीहरुले नेपाल जानु पर्ने, भिसा थप्नु पर्ने,पासपोर्टt रिन्यू गर्न पठाएको ५–६ महिना भइ सक्यो राजदुतावासले रिसिभ लेटर पनि पठाउँदैन, फोन उठ्दैन, इमेलको उत्तर दिदैन आदि गुनासाहरु दुःखका साथ पोखिरहन्थे ।

मैले सरल भाषामा जानेसम्म राजदुतावास भनेको विदेशमा अवस्थित सम्बन्धित देशको सरकार हो । यसले दुई देशसँग सम्बन्धित कयौँ कार्यहरु गर्ने गर्दछ । झन अष्ट्रेलिया जस्तो विशाल विकसित देश जसको लामो समय देखि हाम्रो देशको कुटनैतिक सम्बन्ध छ, यी दुई देशका विच धेरै नै विषयमा ठूला ठूला दुई पक्षिय कामहरु हुने गर्दछन् । तर, दुतावासको अवस्था कति हो कति दयनीय।

आफ्नो देशसँग सम्बन्धित हरेक कुराहरु थाहा पाउन चाहनु त्यस देशका नागरिकहरुको अधिकार हो भने, हरेक कुराहरु सार्वजनिक गर्नु त्यस देशको सरकारको कर्तव्य हो । धेरै दुःखका साथ भन्नु पर्दछ की पहिलेका राजदुतहरुको टिमले यस्ता विषयहरु सार्वजनिक गर्न नचाहेर हो वा हामी विदेशमा काम, जागिर दुःख गरेर बसी रहेका नेपालीहरुलाई यी विषयहरु सार्वजनिक गर्नुपर्ने आवश्यकता नठानेर हो, कुनै पनि कुराहरु सार्वजनिक गरिदैनथ्यो। पूर्व राजदुतहरुको टिमले विदेशमा दुःख गरेर बसीरहेको नेपालीहरुको देशभक्ती पूर्ण भावनालाई सम्मान गर्न नचाहेको प्रष्ट हुन्थ्यो । सधै भरी आसे पासे चिया कफी मै सिमित भएको जस्तो देखिन्थ्यो । उसले उही पुरानै नेपाली संस्कारको सरकार यहाँ चलायो । हामीलाई आफ्नो देशको प्रतिनिधित्व गर्ने संस्था यहाँ छ भन्ने आभास हुन सकेन ।

शुद्धिकरण भनेको एउटा विज्ञान हो जसको पूर्णता कहिल्यै हुदैन । त्यो अगाडी बढ्दै जानु पर्छ नै । हामीले जे देख्यौं, जे महसुस गर्यौं, त्यो गर्वका साथ भन्नु पर्दछ । वर्तमान राजदुतको टिम ले छ महिना कार्य गरिसकेको छ । शुरुमा त मलाई लागेको थियो की यो टीम पनि पहिला पहिला जस्तै होला । त्यसैले त्यती चासो राखेको थिइन । अझ भन्नुपर्दा, पहिलेको तितो अनुभवले त्यति चासो नै लागेन।

म पनि समय र स्रोतले भ्याएसम्म सामाजिक संजाल हेर्ने गर्छु। तर यो टीमले शुरुका दिन देखि नै अष्ट्रेलियामा आफ्नो सेवाहरु हामीलाई प्रदान गर्न थाल्यो । कस्टमर सर्भिसमा फोन उठ्ने गर्दछ , रिपोर्ट लेखिन्छ । आवश्यक भएमा उतैबाट पुन: फोन पनि गरिन्छ, ईमेलको समयमै उत्तर दिइन्छ । कर्मचारीहरुले काममा झन्झट मान्दैनन् । समस्या राखेपछि समाधानको लागि सही उपायको खोजी गरिन्छ । आफ्नो देशसँग सम्बन्धित हरेक काम काजलाई हरेक नेपाली नागरिकले थाहा पाउनु उनीहरुको अधिकार हो भन्ने मान्यताका साथ तुरुन्तै सामाजिक संजालमा अपडेट गरिन्छ ।

त्यस्तै, अष्ट्रेलियामा रहेर विभिन्न क्षेत्रमा राम्रा काम गरेका नेपालीहरुलाई सम्मान प्रदान गरी प्रोत्साहन गरिन्छ । विभिन्न संकृतीले भरीएको हाम्रो समाजमा सबैलाई उत्तिकै सम्मान दर्शाउदै सबैलाई अपनत्व महसुस हुने गरी वर्तमान दुतावास टिमले सम्भव भएसम्म नेपालीहरुका सबै सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरुमा उपस्थिति जनाइरहेको देख्न पाइन्छ ।

अझ गर्व त मलाई त्यतिबेला लाग्छ, जब राजदुत स्वयंले विभिन्न कार्यक्रमहरुमा भन्ने गर्नुहुन्छ “दुतावासलाई अझ बढी प्रभावकारी बनाउनका लागि हजुरहरुको सुझाव सल्लाहहरुको हर हमेसा सम्मान गर्दछु । राम्रो कामका लागि हामी सबैले एकसाथ काम गरौँ ।”

शुभकामना सहित आशा गरौँ वर्तमान टिम अझ बढी सेवा प्रदान मुखी रहोस् । हामी विदेशमा दुःख गरेर जिन्दगी गुजारी रहेका नेपालीहरुको दुःख सुखको साथी बनोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments