काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहत रहनेगरी स्वतन्त्र विज्ञ समूह ‘थिङ्क ट्याङ्क’ गठनको तयारीमा सरकार जुटेको छ । यसका लागि बिहीबार विभिन्न क्षेत्रका विज्ञहरुसँग प्रधानमन्त्री निकट नेताहरुले छलफल गरेका छन् । स्वतन्त्र विज्ञ समूह गठनको तयारी गर्ने भूमिका पाएका एमाले नेता डा.राजन भट्टराईले विषयविज्ञहरुसँग छलफल गरेका हुन् ।

स्थायित्व र समृद्धिको नारा सफल पार्न स्वतन्त्र विज्ञ समूह गठनको तयारी भएको नेता भट्टराईले बताए । भट्टराईका अनुसार प्रधानमन्त्री कार्यालय मातहत रहेपनि यो समूह स्वतन्त्र हुनेछ । यो समूहले सरकारलाई विभिन्न विषयको नीतिगत सुझाव दिनेछ । प्रधानमन्त्री केपी ओलीले यो स्वतन्त्र समूह दीर्घकालीन रुपमा राख्न संसदबाटै कानून बनाउने तयारी गरेका छन् ।

बिहीबारको छलफलमा सहभागीहरुले प्रधानमन्त्री ओलीले देखाएको यो कदमको प्रशंसा गरेका थिए । अनुसन्धानमा आधारित प्रमाणका आधारमा सरकारलाई सुझाव दिनसक्ने यस्तो समूह गठनले महत्वपूर्ण अर्थराख्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पिताम्बर शर्माले बताए । प्रधानमन्त्री ओलीले सार्वजनिक अभिव्यक्तिमार्फत् विज्ञ समूह गठन गर्ने बताउँदै आएका थिए । यसले सरकारको कामकार्बाही प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

स्वतन्त्र विज्ञ समूहमा कानून, अर्थ, सुरक्षा, कुटनीति, विकास योजना, शिक्षा, स्वास्थ्य, सञ्चारलगायत विभिन्न क्षेत्रमा लामो अनुभव बटुलेका विज्ञहरु सामेल हुनेछन् । यो विज्ञ समूह सरकारको अंगका रुपमा भने नरहने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । उनले भने, ‘विज्ञ समूहले स्वतन्त्र रुपले कार्य सम्पादन गर्नेछ । सम्बन्धित विषयमा सरकारलाई दिनेछ ।’

समूहले सरकारले गर्नुपर्ने विकास, बातावरण, शिक्षा, स्वास्थ्यलगायत बदलिँदो अन्तरराष्ट्रिय सन्दर्भबारे सुझाव दिनेछ । सरकारलाई सहयोग गर्न चाँडै स्वतन्त्र विज्ञ गठन हुने मन्त्री ज्ञवालीले बताए ।

नेपालमा यस्तो समूह नभएकाले अनुसन्धानमा आधारित नीति निर्माण हुन सकेको छैन । यसैलाई ध्यान दिएर सरकारले विज्ञ समूह तयार पार्न लागेको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालले बताए । प्रधानमन्त्री ओलीले पार्टीभित्र र बाहिरका विज्ञहरुलाई सामेल गराइने बताए ।

सरकारलाई सुझाव दिन अमेरिका, युरोप, छिमेकी भारतलगायत देशहरुमा विज्ञ समूह रहने व्यवस्था छ । नेपालले पनि अन्तरराष्ट्रिय स्तरको अनुसन्धान गरी सरकारी नीति निर्माणका लागि स्वतन्त्र विज्ञ समूह गठन गर्न लागिएको परराष्ट्रका जानकार राजन भट्टराईले बताए । यो समूह गठनपछि विद्यमान सरकारी संयन्त्रहरु प्रभावकारी बन्ने आशा गरिएको छ ।

सरकारलाई नीति सुझाव दिने र योजना बनाउने संयन्त्रहरुका पदाधिकारीहरू सरकार परिवर्तन सँगै फेरिने भएकाले सरकारले स्थीर सरकार बनाउन सकेको छैन । तर, अव यो समूह बनेपछि हरेक सरकारलाई सुझाव दिनेगरी निरन्तर अनुसन्धान र अध्ययन हुनेछ । यो समूहले विभिन्न विषयको तथ्य संकलन तथा अध्ययन गर्नेछ भने अन्तरराष्ट्रिय विश्वविद्यालयसँग समेत समन्वय हुनेछ । विषयविज्ञहरुको सुझावपछि स्वतन्त्र विज्ञ समूह सम्बन्धी कानून बनाउनेछ । उक्त कानून संसदबाट पारित भएपछि सरकार परिवर्तनसँगै विज्ञ बदल्ने परिपाटीको अन्त्य हुने नेता भट्टराईले बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments