काठमाडौं । सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले जानकारी दिए । नयाँ पत्रिकामा समाचार छ ।

हेल्थ डेक्समा आउने अधिकांश कर्मचरीमा उच्च रक्तचापको समस्या देखिएको उनले बताए । कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन् ।

उनीहरूमध्ये हालसम्म चार सय १० ले स्वास्थ्य परीक्षण गराएकोमा ७० प्रतिशत अर्थात् दुई सय ८७ मा उच्च रक्तचाप देखिएको मुडभरीले बताए ।

सरकारले स्वास्थ्य उपचारको बहानामा कर्मचारी काम छाडेर बाहिर जाने गरेको भन्दै स्वास्थ्य मन्त्रालयको समन्वयमा तीन साताअघि सिंहदरबारभित्रै हेल्थ डेस्क स्थापना गरेको थियो ।

बिहान ८ बजे खाना खाने, दिउँसो ३ बजे १ गिलास पानी पिउने, अपराह्न ४.३० मा खाजा खाने, साँझ ७ बजे दुई गिलास पानी खाने र राति ८.३० देखि ९ बजेभित्र खाना खाने गरेको तालिका अधिकांश कर्मचारीले बताएका थिए । वीर अस्पतालका निर्देशक प्रा।डा। भूपेन्द्र बस्नेतले सिंहदरबारका कर्मचारीको खानपान र जीवनशैली सही नभएका कारण रोगी भएको बताए ।

सिंहदरबारभित्रै औषधि अभाव

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै अत्यावश्यक औषधिको अभाव देखिएको छ । भएका औषधिहरू पनि कम गुणस्तरको हुँदा प्रयोगविहीनजस्तो देखिएको छ । सेवा सुरु गर्दा स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाले दिएको औषधि सकिएको छ ।

तर, कर्मचारीका लागि आवश्यक औषधि अब कोसँग माग्ने भन्ने अन्योल देखिएको छ । मुडभरीका अनुसार निःशुल्क औषधि भने उपलब्ध छ । अहिले दैनिक ५० जना बिरामी स्वास्थ्य उपचारका लागि हेल्थ डेस्क जाने गरेका छन् ।

हेल्थ डेस्क सञ्चालनमा आएको २१ दिनमै अत्यावश्यक औषधि अभाव भएको हो । ग्यास्ट्रिकको औषधि, भिटामिन, एन्टिबायोटिकलगायत सकिएको छ ।

Please follow and like us:

Comments