-कामना न्यौपाने

आज घरबाट निस्किँदा म ढुक्क भएर निस्किंदै छु, लाग्दैछ बाटोमा कसैले कुहिनोले मेरो छाती छुन खोज्ने छैन । गाडीमा कोही मेरो शरीरमा नियतवस टासिने छैन । केटा साथीसंग कफी पिउदै गर्दा कसैले घुरेर हेर्ने छैन, कफीको बिल मैले तिर्दा मेरो केटा साथीले लज्जित महशुस गर्ने छैन । मेरो अफिसका केटा साथीहरुसंग गफिदा म वेपर्वाह हाँस्न सक्नेछु, उनीहरुले आफ्ना पूराना सम्बन्धका कहानी सुनाउँदा म पनि आज मनमा गुम्सेर बसेका ती कथा सुनाउनेछु, किनकि आज म ढुक्क छु, मलाई उनीहरुले चरित्रहीन सम्झिने छैनन् । जागिरको लागि बहिनी अन्तर्वार्तामा जाँदैछे, म ढुक्क छु अन्तर्वार्ताकारले, तिमीलाई अँगालो मार्न आउँछ भन्नुको साटो उसको दक्षताको मूल्यांकन गर्नेछ । फेसबुक खोलेर हेर्दा मेरो लैंगिक शारीरिक संरचनालाई लक्षित संदेश नभई एउटा साथी, एउटा मानिसलाई लक्षित संदेश हुनेछन् । राती घर फर्कदा म आफूलाई सुरक्षित महसुस गर्नेछु । बलात्कारका समाचार सुन्नुपर्ने छैन । हिंसामा कोही पर्ने छैनन् । र,मेरा हावा गफ, बिना तर्कका रोदन, गुनासा, हलुका शब्दहरुले कसैको समय बर्बाद हुनेछैन । हिजोको फेसबुक, ट्वीटर, लेख र समाचारहरुले मलाई यति विश्वस्त बनाएका छन् ।
गत वर्षको महिला दिवसको दिन सामाजिक संजाल र संचारमाध्यम देखेमा नारी सम्मान सम्बन्धिका तमाम पोस्ट पढेपछि अर्को दिन बिहान मैले लेखेको पोस्ट थियो, यो । तर, फेरि पनि म हलुका गफ, बेतुकका गुनासाले अरुको समय बर्बाद गरिदिन बाध्य भएँ ( बनाइयो ) । गत वर्ष मैले यो लेखिसकेपछि यसपटकको महिला दिवसका पोस्टहरु पढ्ने समयसम्म मैले बसमा, सामाजिक संजालमा, कार्यक्षेत्रमा हिंसा भोगें । समाजमा बलात्कारका घटना त कति–कति ! सायद मेरो त्यो विश्वास नै अर्थहीन थियो, होइन भने क्लारा जेटकिनले सन् १९१० मा घोषणा गरेको महिला दिवस २०१८ मा आउँदा सम्म पनि किन आत्मसम्मानको खोजीमा म चित्कार छोड्दै हुन्थें होला र !

सामाजिक संजालमा म्यासेज र कमेन्टबाट भोगेको हिंसा, रात्रीबसमा यात्रा गर्दा सामाजिक पदमा रहेको व्यक्तिले गरेको हिंसाले मलाई फेरि बोल्न बाध्य बनाए । म बोलें, तर सुन्नेहरुको लागि यी सामान्य कुरा बने । मेरो आत्मसम्मान त पहिल्यै गुम्यो, मेरो आत्मसम्मान सामान्य बनिदिंदा केही दिन मेरो आत्मबल समेत गुम्यो । मेरो विगतको सम्बन्धको बारेमा कसैलाई खुलेर बताउनु त परको कुरा, कण्डम र सेनेटरी प्याडको विषयलाई लिएर लेखेको लेखबाट उत्ताउली केटी, यौन लेख्ने केटी आदि उपनाम समेत पाएँ ।

अन्तर्वार्ताको क्रममा ‘अँगालो मार्न आउँछ’ भन्ने प्रश्नबाट परिचित म, यो वर्षको एउटा अन्तर्वार्तामा प्रश्न पाएँ,’कति वर्षकी भयौ ? ’लपसप’ छ होला नि ?’। सायद ’केटी’ भन्ने बित्तिकै ‘यौन’ र ‘अबुझ’ भन्ने बुझाई थियो ती वरिष्ठ ज्यूको । त्यसपछि आएको मैया’साब सम्बोधन । आफ्नो कर्मचारीसंग पहिलो र दोस्रो कुराकानीमै यसरी बोल्नु के सामान्य हो ? धेरै पटक आत्मसम्मानमा चोट पुगेर उठेकी मलाई यी कुरा पटक्कै सामान्य लाग्दैनन् । अँ, अनि आयो यौनको कुरा । कण्डम र सेनेटरी प्याडको बारेमा लेखेपछि आएको प्रतिक्रिया, ‘यौनको बारेमा खतरा लेख्नुहुँदो रहेछ नि, हाम्रो लागि पनि लेख्नुस् न । ‘ र,मैले यो कुरालाई आफ्नो शैलीमा ढालेर फेसबुकमा लेखेपछि वरिष्ठ व्यक्तिबाट आएको लगातारको ’टर्चर’ त्यसपछिको चर्काचर्की ।

जुन कार्यालयमा कुनै पनि व्यक्तिले आफ्नो आत्मसम्मान गुमेको महसुस गर्न थाल्छ, उसले त्यहाँ आफ्नो व्यक्तित्व विकास कसरी गर्न सक्छ ? त्यसैले मैले कामको अवसरभन्दा आत्मसम्मान ठूलो ठानें । म महिला हूँ, तिम्रो कुण्ठा पोख्ने ठाउँ होइन । म महिला हूँ, तिमी भन्दा तल्लो दर्जाको मानिस होइन । म तिम्रो कार्यालयमा काम गर्नको लागि मेरो क्षमता र योग्यता लिएर आएकी हूँ, तिम्रो लागि भोगविलासी गुडिया बनेर होइन ।

जब कुनै पदमा पुगेको व्यक्तिले कुनै महिला कर्मचारीलाई एउटा कर्मचारी, एउटा व्यक्तिको रुपमा व्यवहार गर्न सक्दैन भने अरुबाट के अपेक्षा गर्नु ? केटीले छोटो कपडा लगाई भनेर टिप्पणी गर्ने महापुरुषहरु, तल देखि माथिसम्म शरीर छोपेर मसंग बोलिरहेकी महिला, कार्यालयको ड्रेसमै काम गर्ने कर्मचारी, देख्दै नदेखी फोन वा म्यासेजमा बोलिरहेकी महिलामा पनि म त्यही स्तन र यौनाङ्ग मात्र देख्छु । यति कमजोर छु की आफ्नो शरीर र कुचेष्टालाई लगाम लगाउन सक्दिन भनेर किन बोल्दैनौ ? किन लेख्दैनौ ?

कार्यक्षेत्रमा यौनहिंसा भन्ने विषयलाई लिएर केही दिन अगाडि मात्र एउटा समाचार आएको थियो, नेपाल होइन, विकसित देश , अष्ट्रेलियाको । महिलालाई मताधिकार दिने विश्वकै दोस्रो देश र संसद भवनमै महिला सांसदले आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने देश, अष्ट्रेलियामा हरेक १० जनामा एक जना महिला आफ्नो कार्यक्षेत्रमा यौन हिंसामा पर्ने गरेको तथ्यांक बाहिरिएको छ । ती हिंसाका प्रकार मध्ये धेरै त, घुरेर महिला कर्मचारीका अंगहरुमा हेर्नु हो । नेपालमा घुरेर हेर्ने तथ्याङ्क निकाल्ने हो भने कति आउंथ्यो होला ?

मलाई लाग्थ्यो, म सायद धेरै सोंच्छु, या त म मात्र यी कुराहरुको शिकार बनिरहेकी छु । जब मैले आफ्ना अनुभवहरु, विचारहरु लेख्न थालें, यी कुरालाई सामान्य भन्ने र मलाई अनावश्यक रुपमा सानो कुरालाई बढाएको मान्ने व्यक्तिहरु त थिए नै , तर मलाई ती किशोरी र युवतीहरुका ’म्यासेज’ आउन थाले, जसले धन्यवाद बोलिरहेका हुन्छन् । उनीहरुको आत्मसम्मान पटक–पटक गिरेको छ, गिराइएको छ, तर उनीहरु खुलेर बोल्न सकिरहेका छैनन् । समस्या उही हो, महिलाको आत्मसम्मान भन्ने शब्द हाम्रो समाजको शब्दकोषमा नहुनु, हाम्रो ढोंगी शिक्षित पदमा यसको महत्व नहुनु, एउटी महिलामाथि उसको परिवार,ब्वाइफ्रेन्ड र श्रीमान मात्र होइन, पूरै समाजले आफ्नो अधिकार ठान्नु । र, महिलालाई लड्न होइन सहन सिकाइनु । लाज, सहनशीलता र परिवारको इज्जत उसका गहना हुन् भनेर सिकाइनु । यही मान्यताले खुम्चिंछे ऊ, यही मान्यताले हिंसा पीडित हुन्छे ऊ । यही मान्यताले आत्मबल कमजोर बनाउछे ऊ र यही मान्यताले बलात्कृत हुन्छे । शरीर बलात्कृत भएको समाचार बाहिर आएपछि मात्र तिमीले थाहा पाउँछौ र नारी सम्मान भनेर सामाजिक संजालको भित्तो सजाउँछौ । तर तिम्रै घरभित्रको महिला सदस्य आफ्नो जीवनमा कतिपटक भावनात्मक रुपमा, शारीरिक रुपमा, वैचारिक रुपमा बलात्कृत भइरहेका हुन्छन्, तिमी अनभिज्ञ छौ ।

त्यसैले आफ्नो छोरीलाई लाज होइन आत्मविश्वास तिम्रो गहना हो भन्ने सिकाउ । दुव्र्यवहारको बेवास्ता होइन, सामना गर्न सिकाऊ । अन्याय सहन होइन बोल्न सिकाऊ । शिर झुकाउन होइन, शिर उठाउन सिकाऊ । तिम्रो क्षमता तिम्रो शरीरमा हुन्न, तिम्रो योग्यता र विचारमा हुन्छ, त्यसैले अगाडि बढ्नुपर्छ भन्ने सिकाऊ । आफ्नो छोरीलाई समाज र पुरुषदेखि नै डर देखाएर होइन, उसलाई जोकोहीको गलत व्यवहार विरुद्ध निडर बनेर बोल्न सिकाऊ । ताकि तिम्री छोरीले आफूले सहेको दुव्र्यवहार, गुमेको आत्मविश्वास, हराएको सपना सम्झेर आफूले छोरी जन्माउने चाहना नमारोस् ।

Comments

comments