काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणलाई अघि बढाउन छलफल गरेको छ । २०७२ सालको भूकम्पबाट भत्किएको ऐतिहासिक महत्वको धरहरा पुनर्निर्माणलाई अघि बढाउनेबारे सरोकारवाला निकायसँग छलफल भएको हो ।

प्राधिकरण, प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र पुरातत्व विभागका पदाधिकारीसहित विज्ञ समुहसँग छलफल गरिएको हो । आफ्नै प्रतिबद्धताबाट पछि हटेर नेपाल टेलिकमले धरहरा पुनर्निर्माण गर्न नसक्ने बताएपछि प्राधिकरण आफैले त्यसको पुनर्निर्माण गर्नेबारे तयारी अघि बढाएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले धरहरा निर्माणपूर्वका सबै प्राविधिक तयारी पुरा गरी जतिसक्दो छिटो पुनर्निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका प्रवक्ता यमलाल भूसालले धरहरा सम्बन्धी ड्रोइङ डिजाईनसहितका प्राविधिक पक्षका विषयमा छलफल चलिरहेको भन्दै यसको टुंगो लागेपछि धरहरा पुनर्निर्माणको प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

धरहरा पुनर्निर्माणको प्राविधिक पक्षबारे छिट्टै विज्ञ सदस्यसहित अर्को बैठकमा छलफल गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

Please follow and like us:

Comments