काठमाडौं । नेपालले एकदिवसीय मान्यता पाउने पक्का भएको छ । विश्वकप छनोट प्रतियोगिता अन्तर्गत क्रस प्लेअफमा नेपालले पपुवा न्युगिनीलार्इ र नेदरल्याण्डले हङकङलार्इ हराएपछि नेपालले सातौं स्थानको प्लेअफ नखेली एकदिवसीय मान्यता पाउने पक्का भएको हो । एकदिवसीय मान्यता नेपाली क्रिकेटका लागि अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो ।

एकदिवसीय मान्यताका लागि महत्वपूर्ण मानिएको पपुवा न्यूगिनीसँको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो । त्यसपछि नेदरल्याण्डले हङकङलाई पराजित गरेपछि नेपालले एकदिवसीय मान्यता पाएको हो ।

नेदरल्याण्डसँग हङकङ विजयी भएको भए नेपालले एकदिवसीय मान्यता पाउन सातौं स्थानका लागि हुने खेलमा हङकङसँग खेल्नु पर्दथ्यो । जसमा हङकङकलाई हराउनै पर्दथ्यो ।

यद्यपि अब पनि नेपालले नेदरल्याण्डसँग अन्तिम खेल खेल्नुपर्ने छ । तर नेदरल्याण्डसँको खेलमा जस्तोसुकै नतिजा आएपनि नेपालले ४ वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (काउन्सिल)ले नेपालले एकदिवसीय मान्यता पाएको भन्दै बधाइ दिएको छ । आईसीसीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत नेपाली क्रिकेट टोली र नेपाली क्रिकेट प्रसंशकलाई ‘वान डे’ मान्यता पाएकोमा बधाइ दिएको हो ।

Comments