काठमाडौं । यूएस बंगला विमान दुर्घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले काम थालेको छ । सरकारले सोमबार पूर्वपर्यटन सचिव यज्ञ गौतमको संयोजकत्वमा ६ सदस्यीय आयोग गठन गरेको थियो । कान्तिपुरमा समाचार छ ।

आयोगले मंगलबारदेखि काम थालिसकेको छ,’ पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले मंगलबार त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आयोगले दुर्घटना अनुसन्धान गर्दा आवश्यकताअनुसार विज्ञको पनि सहयोग लिनेछ।

आयोगलाई १ सय ५० दिनको समय दिइएको छ। सहसचिव आचार्यले दुर्घटनाको छानबिनका लागि अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए। ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि हातेमालो गर्नेछौं। बेलायतले पनि सघाउने भनेको छ,’ आचार्यले भने। आयोगको कार्यालय सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा राखिएको छ। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दुर्घटनामा परेको बमबार्डियर ड्यास एट क्यु फोर हन्ड्रेड विमान दर्ता भएको मुलुक बंगलादेशबाट जहाजका प्राविधिक डकुमेन्ट झिकाइने बताए। उनले आयोगले जहाजको मर्मत, उडानयोग्य प्रमाणपत्रलगायत प्राविधिक डकुमेन्ट पनि झिकाइने बताए।

अडियो सार्वजनिक भएकामा आपत्ति

यसैबीच, एयर ट्राफिक कन्ट्रोलर (एटीसी) र पाइलटबीच भएको सवांदको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ। प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत उजुरी दिएको छ। ‘यो गम्भीर विषय हो। पाइलट र एटीसीको संवाद सार्वजनिक गर्न मिल्दैन,’ महानिर्देशक गौतमले भने, ‘हामीले यो अडियो सार्वजनिक भएको विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि भनिसकेका छौं।’ गौतमले यस्तो अडियो आवश्यक परेमा सुन्न सक्ने अधिकार प्राधिकरणका महानिर्देशक र दुर्घटना भएमा जाँचबुझ आयोगलाई मात्रै हुने बताए।

यही अडियो सुनेर यूएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी ९सीईओ० इमरान असिफले विमान दुर्घटनामा पर्नुमा नेपाली एयर ट्राफिक कन्ट्रोलरलाई दोष दिएका छन्। यसबारे प्राधिकरणका महानिर्देशक गौतमले एयरलाइन्सका सीईओको भनाइ आधारहीन भन्दै खण्डन गरेका छन्। ‘सीईओको भनाइमा आधार छैन। जे मन लाग्यो त्यो भन्न पाइँदैन। हामीले पनि पाइलटको गल्ती भनेका छैनौं। दुर्घटना हुँदा देखिएको अवस्थाबारे मात्रै अभिव्यक्ति दिएका हौं,’ गौतमले भने, ‘यो विशुद्ध प्राविधिक कुरा हो। आयोगको अनुसन्धानपछि मात्रै खास कुरा भन्न सकिने छ।’ पूर्वाधार र उपकरण अभावले यो दुर्घटना नभएको प्राधिकरणले उल्लेख गरेको छ। ‘यात्रु र उडानको चापअनुसार पूर्वाधारको आवश्यकता महसुस भएको पक्कै हो तर, सोमबारको दुर्घटनासँग यसको सम्बन्ध गाँसिएको छैन,’ गौतमले पत्रकार सम्मेलनमा भने।

बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु तथा चालक दलका ४ सदस्यसहित आएको विमान अवतरणका क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो। प्राधिकरणले दुर्घटनामा ४९ को मृत्यु भएको जनाएको छ। तर गृह मन्त्रालयले मृतकको संख्या ५१ पुगेको दाबी गरेको छ। बंगलादेशी सञ्चारमाध्यमले चालक दलका क्याप्टेन अविद सुल्तानको मृत्यु नभएको दाबी गर्दै आएका छन्। तर प्राधिकरणका महानिर्देशक गौतमले यो दुर्घटनामा चालक दलका सबै सदस्यको पनि मृत्यु भइसकेको जनाएको छ। विमानमा ३३ नेपाली, ३६ बंगलादेशी, एकरएक चिनियाँ र माल्दिभ्सका नागरिक तथा चालक दलका चार जना थिए। सबै शव शिक्षण अस्पतालमा राखिएका छन्।

Comments

comments