काठमाडौं । हलिउड फिल्म ब्ल्याक प्यान्थरले संसारभरिबाट एक अर्ब डलरभन्दा बढीको व्यापार गरेको छ ।

डिज्नीको मार्भेल यूनिभर्सको यो पाँचौं फिल्म कोशेढुंगा नै साबित भएको छ ।

फिल्ममा वकाण्डा नामक एक काल्पनिक अफ्रिकी देशको हो जसमा अभिनेता च्याडविक बोजम्यान त्यहाँको शासक बनेका छन् । त्यसलाई संसारकै सबभन्दा आधुनिक प्रविधियुक्त मुलुकका रूपमा देखाइएको छ ।

फिल्ममा अस्कर विजेता लूपीता न्योंगो, माइकल बी जोर्डन र डेनियल कालूयाको पनि प्रमुख भूमिका छ । मार्टिन फ्रीम्यानले सीआईए एजेन्ट एभरेट रोसको भूमिका निर्वाह गरेका छन् ।

फिल्मलाई ठूलो गेमचेन्जरका रूपमा प्रशंसा गरिएको छ । यसमा कालाजातिका कलाकारहरूको बाहुल्य रहेको भन्दै प्रशंसा भएका छन् । फिल्मका निर्देशक रेयान कूग्लर पनि काला हुन् ।

बक्स अफिस विश्लेषक जेफ बोकले न्युयोर्क टाइम्सलाई भने, ‘यो फिल्मले एउटा पर्खाल भत्काउने काम नै गरेको छ । काला कलाकारहरूको फिल्म चल्दैन भनी अब कुनै पनि स्टुडियोले भन्न सक्दैन ।’

डिज्नीको टिकट बिक्रीअनुसार फिल्मले रिलिजको २६औं दिनमा एक अर्ब डलर कमाइ गरेको जनायो ।

एक अर्ब डलर अहिलेसम्म जम्मा ३२ फिल्मले कमाएका छन् ।

फिल्मको सफलताको आशा शुरूदेखि नै गरिएको थियो । अमेरिका र क्यानडामा सप्ताहको प्रारम्भमा आशा गरिएभन्दा दुईगुणा बढी कमाइ फिल्मले ग–यो ।

अघिल्लो महीना फिल्म निर्देशक कूग्लरले एक भावुक पत्र लेखेर दर्शकहरूलाई धन्यवाद दिए ।

Comments

comments