भैरहवा । व्यवसायीमाथि गोली प्रहार हुँदा छानवीनको क्रममा प्रहरीले उल्टो पीडितलाई नै दुःख दिएकाे भन्दै मंगलबार भैरहवा बजार बन्द गरिएको छ ।

सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका सदस्य हरिष सेठियामाथि सोमबार राति गोली प्रहार भएको थियो । घटना लगत्तै प्रहरीले पीडितलाई नै बढी केरकार गर्न थालेपछि संघले बजार बन्द आह्वान गरेको हो । बजार बन्द गरिए पनि शैक्षिक संस्था, अस्पताल र यातायात भने खुल्ला छन् ।

मोबाइल व्यवसायी सेठयामाथि घरतर्फ जाँदै गर्दा बैंक रोडमा गोली प्रहार भएको थियोे । भारतीत नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जनाले गोली हालेका थिए ।

गोली हान्ने भारत महाराजगंज थाना कोतवाली मोनजोत ग्राम पञ्चायत बस्ने ४६ वर्षका रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई स्थानीय र प्रहरीको प्रयासमा पक्राउ गरिएको हो ।

प्रहरीले उनले चढेको यूपि ५६ इ ४१४९ नम्बरको मोटरसाइकल, एउटा घरेलु कटुवा पस्तोल, फायर भएको खोका, १ थान गोली, सामसुङ मोबाइल डायरी लगायतका सामाग्री जफत गरेको छ । घटनामा संलग्न अर्का व्यक्ति भने फरार छन् ।

Comments

comments