काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अहिलेसम्मकै ठूलो विमान दुर्घटना भएको छ । चालक दलका सदस्यसहित ७१ जना सवार यूएस बंगला विमान सोमबार दिउँसो २.१८ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ४९ जनाको मृत्यु र २२ जना घाइते भएका छन् ।

बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु बोकेर काठमाडौं आइरहेको ७२ सिट क्षमताको ‘डास–८ बम्बार्डियर’ त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटना भएको हो । विमानमा पाइलट, को–पाइलट र क्याबिन क्रू गरी चार जना चालक दलका सदस्य थिए ।

यो त्रिभुवन विमानस्थलभित्र भएको सबैभन्दा ठूलो दुर्घटना हो । यसअघि टर्किस एयरको जहाज अवतरण क्रममा दुर्घटनाग्रस्त भए पनि मानवीय क्षति भएको थिएन । टर्किस र विमान बंगला दुवै जहाज अवतरण क्रममा धावनमार्गभन्दा बाहिर गएर दुर्घटनामा परेका हुन् । विमानमा ३३ नेपाली, ३२ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक रहेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । चालक दलका सबै सदस्य बंगलादेशी नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक सञ्जीव गौतमले बताए । यात्रुमध्ये ३७ पुरुष, २८ महिला र दुई बालबालिका हुन् ।

दुर्घटनामा ज्यान गुमाउने २२ नेपाली, २१ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक भएको महानिर्देशक गौतमले जानकारी दिए । चालक दलका चारै सदस्यको निधन भएको छ । दुर्घटनामा घाइते भएका यात्रुमध्ये ११ नेपाली र ११ बंगलादेशी छन् ।

विमानस्थलको टावर कन्ट्रोल रुम र पाइलटबीच नियमित संवाद हुँदाहुँदै विमान दुर्घटनामा परेको बताइएको छ । कन्ट्रोल रुमबाट बाहिरिएको गोप्य संवादमा पाइलटको विमानस्थलसँग नियमित सम्पर्क भइरहेको देखिन्छ । तर, चालकले कन्ट्रोल रुमको निर्देशन पालना नगर्दा विमान दुर्घटनामा परेको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

टावर कन्ट्रोल रुमसँग सम्पर्क हुँदा पाइलटले विमानमा कुनै पनि समस्या नरहेको बताएका थिए । विमानलाई दक्षिणतर्फको एप्रोचबाट ल्यान्डिङका लागि अनुमति दिएको थियो । तर, चालकले विमानलाई दक्षिणबाट नभई उत्तरतर्फबाट अवतरण गराउन प्रयास गरेका थिए । ‘दक्षिणबाट अवतरण गर्नुपर्ने विमान उत्तरतर्फ लागेपछि कन्ट्रोल रुमले विमानमा समस्या देखिएको हो कि भनेर सोधेको थियो’, नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक गौतमले भने, ‘चालकले जहाज सामान्य अवस्थामै रहेको जवाफ दिए ।’ कन्ट्रोल रुमले पनि जहाज अवतरण गराउन उत्तर(दक्षिण दुवै एप्रोचबाट सुविधा दियो । तर, विमान धावनमार्गभन्दा बाहिर पूर्वतिरको भागमा दुर्घटना हुन पुग्यो ।

Comments

comments